प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ, ऋण हिनामिना गरेको आरोप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ गरेको छ । न्यौपानेले सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा सीआईबीले पक्राउ गरेको हो ।

प्रभु बैंकमा गाभिएको साविकको सेन्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

उनीसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम, सबिना श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सभाष श्रेष्ठ, दिलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई सीआईबीले नियन्त्रणमा लिएको छ ।

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

नेपाल राष्ट्र बैंकले लामो समय सीईओ नभए पनि सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो । न्यौपाने सहितको टिम प्रभुमै आएका थिए । त्यसमध्ये मनोज, दिलिप, दीपेश, राजेश र रमण बहालवाला कर्मचारी हुन्। बाँकीले अवकाश लिइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स