राष्ट्र बैंकले नेपालका बैंकहरुलाई नियमन गरिरहेको छ, डुब्ने अवस्थामा छैनन् :गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नेपालका बैंकहरुलाई नियमन गरिरहेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारी सो कुरा बताएका हुन् ।

‘नेपाली बैंकहरुलाई राष्ट्र बैंकले नियमन गरिरहेको छ । नेपालका बैंकहरु सहज अवस्थामा रहेकाले डुब्ने अवस्थामा छैनन्।’ उनले भने, ‘बैंक डुबे भने अर्थतन्त्र पनि संकटमा जान्छ । हामी कुनैपनि हालतमा बैंक ढल्न दिँदैनौं।’

उनले अहिले ऋणीहरु समस्यामा पर्नुमा बैंकहरुसँगै राष्ट्र बैंक पनि दोषी भएको बताएका छन् । आर्थिक स्थिति सबल हुँदा हुँदै पनि भावना अर्को देखिएको र यसको जिम्मेवार सबै भएको उनले बताए । ‘ऋणीले ऋण लिंदा बुझेनन्, तर बैंकले पनि बुझ्नु पर्थ्यो’। उनले भने ‘त्यसैले ऋणी आज समस्यामा पर्नुको दोष बैंकहरु पनि हुन्।’

सहकारी क्षेत्रमा देखिएका समस्या र पूर्वाधारको क्षेत्रमा आएको स्थितिले गर्दा आर्थिक स्थिति सबल हुँदा पनि भावना अर्कै देखिएको उनले स्पष्ट पारे । सहकारीको १० प्रतिशत मात्रै पैसा फिर्ता हुने माहोल बनाउन सकियो भने सहकारीको अहिलेको समस्यामा न्यूनीकरण आउने उनको दाबी छ । त्यस्तै पूर्वाधारको क्षेत्रमा खर्च हुन सके यसले अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए ।

अहिले खराब कर्जा वृद्धि भएको होईन, वास्तविकता देखाइएको मात्रै हो’ उनले भने, ‘यो खराब कर्जा बढेको वर्ष होईन, खराब कर्जा देखाइएको वर्ष हो । अहिले नेट एनपिए १.१३ प्रतिशत मात्रै छ । अहिले डराउनु पर्ने अवस्था होईन ।’

‘कुनै पनि एउटा बैंक बिग्रदाँ सिंगो सिष्टम नै बिग्रन्छ । एउटा बैंक बिग्रनु भनेको स्टम नै बिग्रनु हो । बैंक फेल हुन सक्छ ’, उनले भने ।

सहकारीका बचतकर्ता र सञ्चालक बैंकसँग पनि ठोक्किएकाले पछिल्लो समय सहकारीको समस्या बैंकमा ट्रान्सफर भएको बताउँदै उनले सहकारीको नियमनका लागि सेकेन्ड टायर इन्सिच्युट आवश्यक रहेको भनाई राखे ।

गभर्नर अधिकारीले पछिल्लो समय निर्माण उद्योग पनि समस्यामा रहेकोले यो क्षेत्रको उद्वार गर्नुपर्ने बताए ।

विगत १४ महिनाको आयात धान्ने विदेशिक मुद्रा रहेको बताउँदै उनले यो ठूलो स्ट्रेन्थ हो र राज्यले चाहेको खण्डमा प्रयोग गर्न सक्ने जानकारी गराए । तर, प्रयोग हुन भने नसकेको उनको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स