काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरण(एनटीए)को अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले भण्डारीलाई एनटीएको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि एनटीएका अध्यक्ष पुरुर्पोत्तम खनालले अध्यक्ष पदबाट राजीनामा दिए पछि नयाँ अध्यक्ष नियुक्त गरेको हो ।
को हुन् भुपेन्द्र ?
वि.सं २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनतर्फ स्नातक पूरा गरेर भण्डारीले विसं २०६२ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन गर्नुभएको छ ।
इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस भारतबाट विसं २०६२ र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपालको विसं २०६४ मा सदस्यता प्राप्त गर्नुभएका भण्डारीले भारतमै चार्टर्ड एकाउन्टेन्टस फर्ममा तीन वर्षे अतिरिक्त तालिम पनि लिनुभएको छ ।
भण्डारीले विसं २०५९ देखि नेपालमा बैंकिङ क्षेत्रको नेतृत्व लिन सुरु गर्नुभएको थियो । उहाँले नेपाल श्रीलङ्का मर्चेन्ट बैंक (हाल नविल बैंकमा गाभिएको) मा कम्पनी सचिव एवम् लेखा तथा वित्त प्रमुखको जिम्मेवारी लिएर वित्त तथा व्यवस्थापन क्षेत्रको नेतृत्व सुरु गर्नुभएको थियो ।
त्यसको एक वर्षपछि उहाँले नेपालको दुर्गम मानिने मध्यपश्चिम क्षेत्रको नेपालगञ्जमा पहिलो विकास बैंकको रुपमा कर्णाली विकास बैंक स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको संस्थापक बोर्ड सचिव तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो । सशस्त्र द्वन्द्वका बीचमा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै कर्णाली विकास बैंकलाई सफल बनाउन उहाँले महत्वपूर्ण भूमिका पनि निर्वाह गरिसक्नुभएको छ ।
त्यसको दुई वर्षपछि विसं २०६२ मा सिएससी एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसमा सिनियर अडिटरको रुपमा काम गर्नुभएका भण्डारीले एक वर्षपछि पशुपति विकास बैंक (हाल हिमालयन बैंकमा गाभिएको) मा प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले पशुपति विकास बैंकको नेतृत्व मात्र लिनुभएन, चार वर्षअघि सञ्चालनमा आएर पनि लाभांश नदिएर समस्याग्रस्त बनेको बैंकमा खराब वित्तीय स्थितिको ब्यापक सुधार गरी एक वर्षभित्रै लाभांश दिने अवस्थामा पुर्याउनुभयो ।
उहाँले भारतमा रहँदा पञ्जाव नेश्नल बैंक, कार्पोरेशन बैंक, इण्डियन आयल कार्पोरेशनजस्ता स्थापित निकायमा लेखापरीक्षणको अनुभव प्राप्त गरिसक्नुभएको छ । नेपाल र भारतमा विभिन्न निकायको कर तथा लेखा परीक्षणमा सल्लाहकारको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ ।
चार वर्ष वर्ष बैंकिङ क्षेत्रको कुशल नेतृत्व गरेका भण्डारी वि.स. २०६४ देखि दूरसञ्चार क्षेत्रको नेतृत्व लिने भूमिका जानुभयो । स्पाइस नेपाल प्रालि (मेरो मोबाइल)मा नायव प्रमुख वित्तीय अधिकृतको रुपमा सात महिना दूरसञ्चार क्षेत्रको नेतृत्व थाल्नुभएका भण्डारीले सोही वर्षदेखि दूरसञ्चार क्षेत्रकै अन्तर्राष्ट्रिय अनुभव सुरु गर्नुभएको थियो ।
विस. २०६४ मा अफ्रिकी मुलुक बुरुण्डीस्थित मोबाइल अप्रेटर कम्पनी लासेलको प्रमुख कार्यकारी अधिकृत बन्नुभएका भण्डारीले विसं २०७२ सालसम्म आठ वर्ष सोही कम्पनीको नेतृत्वमा समय दिनुभयो । उहाँले रुग्ण कम्पनीको नेटवर्क सुचारु मात्र गर्नुभएन, तीन वर्षमै कम्पनीलाई नाफामा लैजानुभयो । त्यति मात्र होइन, उहाँको कुशत नेतृत्वको परिणाम काम थालेको चार वर्षमै लासेल बुरुण्डीको दोस्रो नम्बरको कम्पनी बन्न सफल भयो ।
विसं २०७२ देखि २०७३ सम्म सिरायलिवनको इन्टरग्रुप टेलिकमको प्रमु्ख कार्यकारी अधिकृतको रुपमा नेतृत्व लिनुभएका भण्डारी सोही वर्षको अन्तिमतिर पुनः बुरुण्डी मोबाइल नेटवर्क कम्पनी लासेलको कन्सल्ट्यान्टको भूमिकामा रहनुभयो ।
दश वर्ष लामो अन्तर्राष्ट्रिय अनुभव र दूरसञ्चार क्षेत्रको कुशल नेतृत्व गरेर विसं २०७४ मा उहाँ नेपाल फर्कनुभयो । नेपाल फर्केपछि भण्डारी सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नवीन विधा फिनटेकतर्फ प्रवेश गर्नुभयो । उहाँ आफैले पे नेप प्रालि स्थापना गरेर २०८० जेठ सम्म (छ वर्ष) त्यसको कुशल नेतृत्व गर्नुभयो ।
२०८० असारमा भण्डारीको जिम्मेवारी बदलियो । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभयो । दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अब्बल भण्डारीको प्रवेशले सञ्चार मन्त्रालयका प्राथमिकता नै बदलिए । लामो समयदेखि मन्त्रालयभित्र रहेका विभिन्न निकायहरुको अनियमिताहरुको औपचारिक अध्ययनमार्फत छोटो समयको बीचमा भण्डारीले नेपालको दूरसञ्चारको क्षेत्रमा सुशासनको सुरुवात गर्न महत्वपूर्ण योगदान दिनुभएको छ ।
टेरामक्स, एमडिएमएस जस्ता प्रविधि जडानको बेलामा भएका भनिएका अनयिमतिताको गहिरो अध्ययन तथा प्रतिवेदन तयार, अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन, फ्रिक्वेन्सी नीति परिवर्तन, इन्टरनेट सेवा प्रदायकबाट भएका भनिएका कर छलि र पूँजी पलायनका घटनाको शुक्ष्म अध्ययन जस्ता सुशासनका सवालमा भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
नेपालमा सूचना प्रविधि क्षेत्रमा भए गरेका बेथितिहरु कानुनको परिधिभित्र ल्याई राष्ट्रको हितमा हुने गरी यो क्षेत्रबाट देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने साथै नेपालमै बसेर राष्ट्रको सेवा गर्ने दृढ संकल्प र उच्चमनोबलका साथ काम गरिराख्नु भएको छ ।