काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५४ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषको यस्तो नाफा ५१ करोड ३२ लाख रुपैयाँ थियो । कोषको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोषको आम्दानी बढेसँग कोषको खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ८.०७ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.०९ प्रतिशत बढेको छ । कोषको कुल आम्दानी १०.८१ प्रतिशत बढेको छ भने कुल खर्च ३१.०२ प्रतिशत बढेको छ ।
नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी ३ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ५५ पैसामा सीमित भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०७.७८ गुणा रहेको छ ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कोषको जगेडा कोषमा २४ अर्ब ४१ लाख रुपैयाँ सञ्चित छ ।