काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिनामा शोधनान्तर घाटा ८३ अर्ब ४१ करोडमा पुगेको छ । देशमा भित्रने भन्दा बाहिरिने रकम बढी भएपछि शोधनान्तर घाटामा गएको हो । बढ्दो आयात र घट्दो रेमिट्यान्सका कारण देशको शोधनान्तर घाटामा देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको समीक्षा अवधिमा ३ खर्ब १४ अर्ब ५२ करोड रुपैयाँ बाह्य मुलुकमा गएको छ भने देशभित्र १ खर्ब ५५ अर्ब ३७ करोडको रेमिट्यान्स र ४४ अर्ब ४ करोड रुपैयाँ नेपाल भित्रिएको छ । उच्च आयतका कारण २ महिनामा १ खर्बभन्दा बढीको शोधानान्तर घाटा भएको देखिएको हो ।
नेपालमा भित्र्नेभन्दा बाहिरिने रकम बढी भएपछि बैंकिङ प्रणालीमा पैसाको अभाव भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २ महिनाको आर्थिक स्थितिको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।