काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूले २७ अर्ब ३७ करोड इम्पेरिमेन्ट चार्जका लागि रकम छुट्याएका छन् । बैंकहरूको खराब कर्जा बढ्दै गएपछि गत आवको सोही अवधिको तुलनामा इम्पेरिमेन्ट चार्ज ६७.१५ प्रतिशतले बढेको हो । गत आवको दोस्रो त्रैमासमा बैंकहरूले १६ अर्ब ३७ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्जको लागि छुट्याएका थिए ।
गत आवको अन्त्यसम्म ३७ अर्ब ५९ करोड पुगेको बैंकहरूको यस्तो चार्ज पहिलो त्रैमासमा घटेर १६ अर्ब ९४ करोडमा सीमित भएको थियो । दोस्रो त्रैमासमा साढे ११ अर्बले चार्ज रकम बढेको हो ।
देशमा सञ्चालित २० वाणिज्य बैंकमध्य ग्लोबल आईएमईको बैंकको यस्तो चार्ज सबैभन्दा बढी देखिएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ४ अर्ब १३ करोड ६० लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज बापत रकम छुट्याएको छ । गत आवमा बैंकको यस्तो चार्ज १ अर्ब १२ करोड रुपैयाँ थियो । चालु आवको पहिलो त्रैमासमा १ अर्ब ७८ करोड पुगेको इम्पेरिमेन्ट चार्ज बढेर चार अर्ब नाघेको हो ।
२ अर्बभन्दा बढी इम्पेरिमेन्ट चार्ज भएका नेपाल इम्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८६ करोड इम्पेरिमेन्ट चार्ज रहेको छ भने कुमारी बैंकको २ अर्ब ७६ करोड, लक्ष्मी सनराइजको २ अर्ब ७३ करोड, नेपाल बैंकले २ अर्ब ७ करोड इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएको छ ।
एक र दुई अर्बको बीचमा इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएका ५ वाणिज्य बैंकमध्य नबिलको १ अर्ब ९७ करोड, हिमालयनको १ अर्ब ९४ अर्ब, प्रभुको १ अर्ब २५ करोड, सिद्धार्थको १ अर्ब १८ करोड र कृषि विकास बैंकको १ अर्ब ९ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज रहेको छ । बाँकी बैंकको यस्तो चार्ज भने अर्बभन्दा कम रहेको छ । एनएमबि बैंकको ८५ करोड ९५ लाख, सानिमा बैंकको ८४ करोड ५० लाख, नेपाल एसबिआई बैंकको ७४ करोड ८६ लाख, एनआईसी एशिया बैंकले ४८ करोड रुपैयाँले इम्पेरिमेन्ट चार्ज छुट्याएको छ ।
त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४३ करोड ९४ लाख, एभरेष्ट बैंकले ४३ करोड २३ लाख, प्राइम बैंकले २८ करोड ११ लाख , माछापुच्छ्रे बैंकले २३ करोड ८५ लाख र स्टयाण्र्डड चार्टड बैंकले ५ करोड १३ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको हो ।