अर्थतन्त्रमा देखिएको उतारचढावले रिकभरीमा समस्या देखिएको होः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा रिकभरीको पाटो चुनौतीपूर्ण रहेको बताएका छन् । कृषि विकास बैंकको ५७अ औँ वार्षिकोत्सवमा अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका उतारचढावले बैंकिङ क्षेत्रको रिकभरीमा चुनौती देखिएको बताएका हुन् ।

उनले भने,‘ रिकभरीको असर स्वरूप केही खराब कर्जा व्यवस्थापनमा प्रेसर परेको छ । यद्यपि, सबै बैंकहरू एनपीए व्यवस्थापनमा लागि रहेको हामीले अनुभव गरिरहेका छौँ ।’

‘बैकिङ बाहेकका अर्थतन्त्र अन्य खम्बाहरू बलियो बन्दै गएको छ’, उनल भने ‘यद्यपि अर्थतन्त्रमा केही उतारचढाव कायमै छ । बैकिङ क्षेत्रमा रिकभरी चुनौती कायमै भएपनि अन्य खम्बाहरू बलिया बन्दै गएका छन्, त्यसले हामी सपोर्ट गर्नेछ ।’
समग्र अर्थतन्त्र नकारात्मक नभएको भन्दै गभर्नर अधिकारीले निर्माण क्षेत्र सुस्ताएकोले त्यसको असर ठूला उद्योगहरूमा देखिएको स्पष्ट पारे ।

गभर्नर अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको र त्यसको लाभ उठाउन बैंकहरु तयार हुनुपर्ने बताएका हुन् । बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनतर्फ केन्द्रित गरी सेवा प्रवाहमा चुस्ततामा लगाउन सुझाव दिएका हुन् ।

‘कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । कृषिमा कस्तो आपूर्ति एवम् मूल्य शृङ्खलाको अभाव छ, त्यो कुरा हामी स्पष्ट रुपमा देख्न सक्छौँ । यसका लागि बैंकले काम गर्न सक्छ’, गभर्नर अधिकारीले भने ।

उनले बैंकले आगामी दिनमा समेत वित्तीय सेवाबाट विमुख किसान, मजदुर एवंम् सिमान्तकृतमा बैंकिङ पहुँच विस्तार गर्न गर्न सक्ने बताए । ‘आफूलाई नेपाली जनताको घर आँगनको बैंकका रुपमा चिनाउँदै आएको यस बैंकले ग्राहकको सन्तुष्टिमा ध्यान दिँदै वित्तीय सेवाको विविधिकरणमार्फत् उद्देश्य हासिल गर्नुपर्छ’, उनले भने ।

बाह्य क्षेत्रमा आएको सुधारले थप हौसला मिलेको उनले बताए । ‘अहिले लिक्यूडिटीमा स्ट्रोङ छ, राजस्वको अवस्था पनि राम्रो हुँदै गएको छ । समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेरे पनि त्यस्तो नराम्रो होइन । बाह्य क्षेत्रको सुधारले थप हौसला मिलेको छ’, उनले थपे, ‘प्रशस्त आयात धन्न सक्ने अवस्था पुगेको छौँ । ऐतिहासिक रूपमा धेरै विदेशी मुद्रा सञ्चिति भएको छ ।’

बैंकिङ क्षेत्रमा प्रशस्त मात्रामा लगानीयोग्य रकम थुप्रिएको तर कर्जाको माग भने बढ्न नसकेकामो गभर्नर अधिकारीले चिन्ता व्यक्त गरे । ‘अलिकति माग कमजोर भइरहेको अवस्था हो । त्यसले कर्जाको माग जुन रूपमा हुनुपर्ने हो, त्यो भएको छैन । डिमान्ड भएन भन्दैमा जथाभावी पैसा बाँड्ने कुरा पनि हुँदैन ।’

कार्यक्रममा कृषि विकास बैंक सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले अहिलेको अवस्था जटिल भएपनि सधै यस्तै अवस्था नरहने बताए । ‘यस्तो अवस्थामा अझ इमान्दार उत्साहित भई काम गर्नुपर्ने पर्छ’, उनले भने ‘रिकभरीदेखि कर्जा प्रवाहसम्म समस्या छ । निक्षेपको कारणले कृषि विकास बैंकको बेसरेट केहि माथि भएपनि यसमा क्रमशः सुधार हुँदै जान्छ ।’

‘अर्को वर्ष यसरी नै हामीले वार्षिक उत्सव मनाइ रहँदा राम्रो भएको भन्न पाउन अवस्था बन्नुपर्छ’, उनले भने ‘भएको कमीकमजोरीलाई केलाउँदै अवसर सिर्जना गर्नेतर्फ लाग्नुपर्छ ।’

वार्षिक उत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले चुनौतीहरूको सामना गर्दै बैंकले आफ्ना ग्राहकलाई अनवरत रुपमा सेवा प्रदान गर्दै आएको बताए । नेपालको इतिहास बोकेको यो बैंकले सधै आम ग्राहकको हितमा काम गर्दै आएको र अवका दिनमा पनि गर्दै जाने बताए । ‘बैंकिङ क्षेत्रमा रिकभरीदेखि अन्य समस्या भएपनि विस्तारै सुधार गर्दै जाने गरी आफूले काम गर्ने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स