एनआईसी एशिया बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.९६ प्रतिशत र सञ्चालन मुनाफा २४.१३ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४७ करोड रुपैयाँ ऋणात्मक रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४८ करोड धनात्मक भएको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको यस्तो आम्दानी उल्लेख्य घट्न पुगेको हो । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स