काठमाडौं । नेपाल बैंक लिमिटेडले ६ महिनासम्ममा बैंकले ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेको छ । सो कारण इम्पेरिमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २२.७८ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.५० प्रतिशत पुगेको छ ।
यससँगै बैंकको इम्पेरिमेन्ट चार्ज ५१ करोडबाट बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९० पैसा घटेर ८ रुपैयाँ ३ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ४४ करोड ५० लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।