काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.५५ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.६७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.१९ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसामा झरेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।