काठमाडौं । चालु आर्थिक वर्षमा देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले सरकारलाई आयकर तिर्नको लागि १२ अर्ब २७ करोड ६० लाख रुपैयाँ छुट्याएका छन् । बैंकहरूले चालु आवको पहिलो ५ महिनामा सरकारलाई आयकर तिर्न छुट्याएको रकम गत आवको सोही अवधिको तुलनामा करिब २ अर्ब ३ करोड ८० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षमा २५ वटा वाणिज्य बैंकहरूले १४ अर्ब ३१ करोड ४० लाख रुपैयाँ आयकर तिर्न छुट्याएका थिए । बैंक तथा वित्तीय संस्थाहरूले हरेक त्रैमासमा सरकारलाई आयकर तिर्ने कानुनी प्रावधान छ ।
चालु आवको समीक्षा अवधिमा बैंकहरूको नाफा घटेका कारण उनीहरूले सरकारलाई तिर्ने आयकर पनि घटेको हो । चालु आवको पहिलो ५ महिनामा वाणिज्य बैंकहरूले २८ अर्ब ३६ लाख ८० हजार रुपैयाँ नाफा गरेका छन् । गत आवको सो अवधिमा देशमा सञ्चालित वाणिज्य बैंकहरूले ३३ अर्ब ८७ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।
चालु आवको पहिलो ५ महिनामा सरकारलाई आयकर तिर्न सबैभन्दा बढी रकम नबिल बैंकले छुट्याएको छ । बैंकले चालु आवको पहिलो ५ महिनामा १ अर्ब ३२ करोड १७ लाख रुपैयाँ आयकर तिर्नको लागि छुट्याएको छ । गत आवको सो अवधिमा बैंकले १ अर्ब ३२ करोड ५१ लाख छुट्याएको छ ।
सरकारलाई बढी कर तिर्नेमा ग्लोबल आईएमई बैंक बनेको छ । बैंकले सरकारलाई आयकर तिर्न छुट्याएको रकम गत आवको सोही अवधिको भन्दा कम हो । सरकारले गत आवको सो अवधिमा १ अर्ब २६ करोड ३७ लाख कर तिर्नको लागि छुट्याएको थियो । चालु आवमा भने बैंकले १ अर्ब २० करोड १७ लाख रुपैयाँ आयकर तिर्नको लागि छुट्याएको छ ।
सरकारलाई बढी कर तिर्ने बैंकको तेस्रो नम्बरको सूचीमा परेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सरकारलाई १ अर्ब १२ करोड ५० लाख रुपैयाँ कर तिर्नको लागि छुट्याएको छ । गत आवको सो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गरी १ अर्ब २४ करोड १४ लाख रुपैयाँ आयकर तिरेका थिए । गत आवमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ ।
चालु आवको पहिलो ५ महिनामा हिमालयन बैंकले ८३ करोड रुपैयाँ आयकर तिर्न छुट्याएको छ भने प्राइम बैंकले ८२ करोड ६६ लाख रुपैयाँ आयकर छुट्याएको छ ।
एनआईसी एशिया बैंकले चालु आवको पहिलो ५ महिनामा ७९ करो ८६ लाख रुपैयाँ आयकर तिर्न छुट्याएका छन् ।
एनसीसी बैंकलाई मर्ज गरेर बनेको कुमारी बैंकले चालु आवको पहिलो ५ महिनामा ६२ करोड ९७ लाख रुपैयाँ आयकर तिर्नको लागि छुट्याएको छ । गत आवको समीक्षा अवधिमा यी दुई बैंकले सरकारलाई आयकर तिर्न १ अर्ब ३ करोड रुपैयाँ छुट्याएका थिए ।
एनएमबि बैंकले पनि चालु आवको पहिलो ५ महिनामा ६२ करोड २० लाख रुपैयाँ कर तिर्नको लागि छुट्याएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आवको पहिलो ५ महिनामा सरकारलाई आयकर तिर्नको लागि ६० करोड ४३ लाख छुट्याएको छ ।
एभरेष्ट बैंकले ६० करोड १३ लाख, प्रभु बैंकले ५३ करोड ३७ लाख, सानिमा बैंकले ४१ करोड ५७ लाख, सिटिजन्स बैंकले ४३ करोड ५९ लाख रुपैयाँ आयकर तिर्नको लागि छ्ट्याएको छ ।
नेपाल बैंकले २९ करोड १३, स्ट्याण्र्डड चार्टर्ड बैंकले ५३ करोड ८३ लाख, नेपाल एसबिआई बैंकले ३२ करोड ८७ लाख, माछापुच्छ्रे बैंकले ४७ करोड ३६ लाख, सनराइज बैंकलाई मर्जर गरेको लक्ष्मी सनराइज बैंकले ३८ करोड ४८ लाख रुपैयाँ सरकारलाई आयकर तिर्न छुट्याएको छ ।
चालु आवको पहिलो ५ महिनामा सिद्धार्थ बैंकले २७ करोड ६५ लाख रुपैयाँ आयकर तिर्नको लागि छुट्याएको छ भने कृषि विकास बैंकले ३ करोड ५६ लाख रुपैयाँ आयकर तिर्नको लागि छुट्याएको छ ।