५ महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३१ अर्ब, नबिल बैंक फष्ट हुँदा ग्लोबल आईएमई सेकेण्ड

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३० अर्ब ९१ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । गत महिना कार्तिकमा बैंक तथा वित्तीय संस्थाको नाफा २२ अर्ब ६२ करोड ३० लाख रुपैयाँ थिए । मंसिर एक महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ८ अर्ब २९ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेका नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

सो नाफा मध्ये वाणिज्य बैंकहरूको नाफा २८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ हो । चालु आर्थिक वर्ष २०८०÷०८१ को मंसिरमा वाणिज्य बैंकहरूलेमात्रै ७ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

देशमा सञ्चालित २० वाणिज्य बैंकमध्ये समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । पाँच महिनामा बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको हो । गत कार्तिकको तुलनामा बैंकले ७९ करोड ९६ लाख रुपैयाँ बढी नाफा कमाएका छ ।

नाफाका आधारमा ग्लोबल आइएमई बैंक भने दोस्रो सूचीमा छ । बैंकले ५ महिनामा २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । मंसिरमा मात्रै बैंकले ७९ अर्ब ९ लाख रुपैयाँ नाफा कमाएको हो ।

तेस्रो सूचीमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले पनि २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । बैंकले पनि एक महिनामै थप ७४ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

 

नाफाकै आधारमा हेर्ने हो भने एनआईसी एसियालाई प्राइम बैंकले उछिनेको छ । पाँच महिनामा प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, एनआईसी एसियाले भने १ अर्ब ८५ करोड १ लाख रुपैयाँ नाफा कमाएका छ । यता, हिमालयन बैंकले पनि १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

समीक्षा अवधिमा प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख, एभरेष्टले १ अर्ब ४० करोड ३२ लाख, सानिमाले १ अर्ब ७ करोड ६३ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब २५ करोड ६० लाख, कुमारीले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ र नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

चालु आवको पाँच महिनामा चार बैंकको नाफा भने १ अर्ब पनि पुगेको छैन । समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख, सिटिजनले ७४ करोड ३५ लाख, नेपाल एसबिआईले ७० करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

गत कार्तिकसम्ममा ऋणात्मक रहेको कृषि विकास बैंक पनि मंसिरमा नाफामा देखिएको छ । गत कार्तिकसम्म कृषि विकास २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा थियो । तर, मंसिरमा भने बैंकले १२ करोड ५० लाख रुपैयाँ नाफा गरेर सुधारको बाटो समातेको छ । गत आर्थिक वर्षको यो अवधि बैंकको ऋणात्मक नै थियो । तेस्रो त्रैमासदेखि बैंकमा उमत्कारिक सुधार भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स