काठमाडौं । माघ महिनाको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । देशमा सञ्चालित बैंकहरूले माघ महिनामा व्यक्तिगत निक्षेपतर्फ ९ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने गरी सूचना जारी गरेका छन् ।
बैंकहरूले माघ महिनाको लागि औसतमा ०.८४ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१२ प्रतिशतमा झरेको छ । पुसमा बैंकहरूको यस्तो ब्याजदर औसतमा ८.९६ प्रतिशत थियो ।
एनएमबि र एभरेष्ट बैंकले भने पुस महिनाकै ब्याजदर यथावत राखेका छन् । पुस महिनकै ब्याजदरलाई कायम गर्दा एनएमबि बैंकले माघ महिनको लागि पनि मुद्दती निक्षेपमा ९ प्रतिशत ब्याजदर दिने भएको छ । यो ब्याजदर सबै वाणिज्य बैंकहरूको भन्दा धेरै हो । कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यस्तै मुद्दती निक्षेपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.६ प्रतिशत, नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत, सानिमा बैंक र हिमालयन बैंकले ८.१५ प्रतिशत, कुमारी बैंकले ८.११ प्रतिशत, नबिल बैंक ,ग्लोबल आईएमई र प्राइम कमर्शियल बैंकले ८.१/८.१ प्रतिशत ब्याज दिने भएको छन्।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टड बैंकले ८.०७/८.०७ प्रतिशत, एनआईसी एशिया र प्रभु बैंकले ८.०६५/९.०६५ प्रतिशत ब्याज दिने भएका छन् ।
माघ महिनामा एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याज दिने भएका छन् । सिद्धार्थ बैंकले भने ब्याजदर प्रकाशित गरेको छैन । हाल देशमा २० वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन् ।