३ बैंकसहित आज पुस २६ गते ११ कम्पनीको साधारणसभा बस्दै, कस–कसले दिँदैछन् लाभांश

काठमाडौं । आज पुस २६ बिहीबार ३ बैंक सहित नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा बस्दैछ । एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी सहित अन्य कम्पनीले आज साधारणसभा गर्न लागेका हुन् । यी मध्ये ५ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभामा लाभांश प्रस्ताव पेश गर्नेमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेको छ ।

बाँकी ६ कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन् । लगानीकर्ताको हात खाली बनाउनेमा एनएमबि बैंक, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी रहेका छन् ।

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।

लुम्बिनी विकास बैंकको सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई ४प्रतिशत बोनस सेयर र कर सहित ४.५० प्रतिशत नगद लाभांश गरी जम्मा ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सोल्टी होटलको सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । यस कम्पनीको साधारण सभाले ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । यसले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

विन्ध्यवासिनी हाइड्रोपावरको सभा कम्पनीको कार्यालय परिसर नयाँ बनेश्वर, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साभामा भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

चन्द्रागिरी हिल्सको सभा यस कम्पनीको कार्यालय थानकोट परिसरमा दिउँसो १२.३० बजे सुरु हुनेछ । कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ । यस कम्पनीको सभाले १०.५२६ प्रतिशत लाभांश घोषण दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कालिन्चोक दर्शनको सभा रोयल इभेन्ट (पार्टी प्यालेस) तीनकुने काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको साभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

अरुण काबेली पावरको सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सभा लिसारा रिसेप्सन, भगवति बहाल, नक्सालमा बिहान १० बजेबाट सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स