काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको माघ महिनाको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ८.०६५ प्रतिशतमा झारेको छ । बैंकले पुसको तुलनामा आफ्नो ब्याजदर ०.६०५ प्रतिशतविन्दु घटाएर माघमा ब्याजदर दिने निर्णय गरेको हो । बैंकको पुस महिनामा ८.६७ प्रतिशत ब्याजदर रहेको थियो ।
बैंकले संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशतमा झारेको छ । पुस महिनामा यस्तो ब्याजदर ६.६७ प्रतिशत थियो।
बैंकहरुले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन् । बैंकहरूको निक्षेप दैनिक बढ्दो क्रममा रहेको छ । तर, निक्षेपको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन । फलस्वरुप बैंकहरूमा लगानीयोग्य रकम थुप्रिदै गएको छ । सोही कारण बैंकहरूले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन् ।