यस्ता छन् हिमालयन बैंकले सार्वजनिक गरेको कर्जा योजना, कुन प्रडक्टमा ब्याजदर कति ?

काठमाडौं । नवीनतम बैंकिङ सेवा प्रदान गर्दै आएको हिमालयन बैंक लिमिटेडले विभिन्न वर्गका ग्राहकहरूलाई लक्षित गरी कर्जाका नयाँ योजना ल्याएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा बैंकको आधार दर १०.६१ प्रतिशत रहेको छ । बैंकर्स आल्मनाकले देशको नम्बर १ बैंकको रुपमा यस बैंकलाई दिएको रेटिङले बैंकको स्तरोन्नती गरेको छ । विभिन्न निक्षेप खाताबाट संकलन गरेको निक्षेपलाई बैंकले १२ प्रकारको नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले आम उपभोक्तालाई ध्यानमा राखेर घरायसी सामान खरिदको लागि समेत कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले सार्वजनिक गरेको घर कर्जा, उपभोक्ता कर्जा, कृषि, शैक्षिक, सेयर, व्यक्तिगत धितो कर्जा, प्रथम श्रेणी बैंक जमानतको सुरक्षणमा दिने कर्जा, मुद्दती रसिदको सुरक्षणमा दिने कर्जा, सरकारी बण्ड र बैंक बण्डको सुरक्षणमा दिने कर्जा, सहुलियत पूर्ण कर्जा, साना व्यक्तिगत व्यापार कर्जा र सुविधा कर्जा हो ।

घर कर्जा
आर्थिक अवस्था कमजोर भएका आम नागरिकहरूको इच्छा पुरा गर्न हिमालयन बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम थपेर घर कर्जाको योजना ल्याएको छ । बैंकले व्यक्तिगत रुपमा नयाँ घर खरिद/निर्माण वा बनिसकेको घर किन्न तथा विस्तार गर्न वा जग्गा खरिद गर्नको लागि १०० प्रतिशत सम्म लगानी गर्न सकिने नयाँ प्रडक्ट सार्वजनिक गरेको हो ।

बैंकले आर्थिक अवस्था कमजोर भएका ग्राहकलाई ढुक्कका साथ घर जग्गा खरिद निमार्ण गर्नलाई ५ लाखदेखि १ करोड ५० लाख रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । जग्गा मात्र खरिद गर्नलाई बढीमा ७५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकको योजना छ । बैंकबाट लिएको उक्त लोन सावा ब्याज सहितको समान मासिक किस्ताको आधारमा ३ वर्ष देखि २५ वर्ष भित्र चुक्ता गर्नुपर्ने हुन्छ ।

बैंकले घर खरिद मूल्यको ८० प्रतिशत र फ्ल्याट खरिदका लागि मूल्यको ७५ प्रतिशतसम्म र जग्गा खरिद गर्न ६० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ । घर निर्माण गर्न अनुमानित १०० प्रतिशत र घर निर्माण कर्जा थप/विस्तार/नवीकरण/परिमार्जन अनुमानित लागतको १०० प्रतिशतसम्म कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले विशेष गरी नियमित, पर्याप्त र स्थिर आम्दानी भएका न्यून मध्यम र उच्च मध्यम वर्गका व्यक्तिहरुलाई लक्षित गरेर यस्तो योजना ल्याएको हो ।

एचबीएल उपभोक्ता कर्जा
घर कर्जासँगै बैंकले उपभोक्ता कर्जाको योजना ल्याएको छ । बैंकले ग्राहकहरूको दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न घरायसी उपभोग्य, टिकाउ तथा सजावटका सामानहरू जस्तै टिभी, फ्रिज, वाशिङ मेशिन, मोबाइल, ल्यापटप, फर्निचर, गरगहना, मोटरसाइकल, आदिहरु न्यून सीमाका बाबजुत क्रेडिट कार्डको माध्यमबाट खरिद गर्ने सुविधा गरेको छ ।
बैंकले क्रेडिटकार्डमार्फत मोबाईलमा कर्जा लगानी गर्ने योजना ल्याएको हो । बैंकले क्रेडिटकार्डबाट आइ फोन तथा सामसुङ्ग मोबाईल खरिद गर्न कर्जा लगानी गर्ने योजना सुरु गरेको छ । न्यूनतम कर्जा सीमाका बावजुद ग्राहकलाई वस्तुहरूको उपयोगिताका अनुसार उक्त वस्तुहरु खरिद गर्ने अवसर प्रदान गरेको हो ।

बैंकले न्यून क्रेडिट सीमामा मुल्यवान् सामानहरु खरिद गर्न मिल्ने, बैंकलाई हरेक महिना किस्ता बुझाउन मिल्ने, १ वर्ष देखि ३ वर्षसम्म तिर्न मिल्ने र न्यूनतम ब्याजदर तथा कर्जा सम्बन्धी अन्य शुल्क तिर्न मिल्ने विशेषता सहितको उपभोक्ता योजना ल्याएको हो ।

बैंकले एनसेलबाट विशेष गरी आइ फोन ५एस, ६ र ६प्लसका फोन खरिद गर्न ४८ हजार ९९९ देखि ८१ हजार ९९९ रुपैयाँ ऋण लिन सकिन्छ । ९.५ प्रतिशत वार्षिक ब्याजदरमा उक्त लोन प्रदान गर्नेछ । उक्त लोन एक वर्ष भित्र चुक्ता गर्नुपर्ने छ । त्यसैगरी सामसुङ फोन समान मासिक किस्ताको आधारमा कर्जा लिन सकिन्छ । सो कर्जाको लागि २० हजारदेखि २ लाख रुपैयाँ ऋण लिन सकिनेछ । उक्त लोन १० महिना भित्त चुक्ता गर्नुपर्ने हुन्छ ।

कृषि कर्जा
बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम थपेर १० लाख रुपैयाँ ऋण दिने भएको छ । बैंकले कृषि खेती गतिविधिमा संलग्न योग्य किसानहरूलाई कर्जा प्रदान गर्न सो योजना ल्याएको हो । विभिन्न बेमौसमी समयमा पनि तरकारी, बीउ, बिरुवा र फलफूलहरूको उत्पादन, प्रशोधन वा भण्डारण, पशु सम्बन्धित व्यवसायहरू, फलफूल, च्याउ जडिबुटी, ऊखु, अदुवा र अलाइचीको उत्पादन, प्रशोधन वा भण्डारण, दूध र मत्स्य व्यवसायको उत्पादन, प्रशोधन वा वितरण गर्न नयाँ कर्जा ल्याएको हो ।

किसानहरूले बैंकबाट लिएको उक्त ऋण ३ महिनादेखि ५ वर्ष भित्रमा चुक्ता गर्नुपर्ने हुन्छ । बैंकले पशु पन्छी तथा मासुजन्य उत्पादन प्रशोधन, सरकारबाट निर्धारित अरु कृषि सम्बन्धित क्षेत्रहरू, ताजा तकारी/फलफूल जस्तै नगदी बालीको जैविक खेती गर्नलाई अधिविकर्ष/ओभरड्राफ्ट र अल्पकालिन माग कर्जाको योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

प्रथम श्रेणी बैंक जमानतको सुरक्षणमा दिने कर्जा
बैंकले विभिन्न प्रथम श्रेणीका अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका बैंक जमानतको आधारमा कर्जा सुविधा प्रदान गर्दछ । बैंकले प्रथम श्रेणी बैंक ग्यारेन्टी विरुद्ध ऋण मूल्यांकन नभएको बैंकलाई आधार दरमा ५ प्रतिशत प्रिमियम थपेर ऋण प्रदान गर्नेछ ।

मुद्दती रसिदको सुरक्षणमा दिने कर्जा
बैंकले मुद्दती रसिदको सुरक्षणमा कर्जा दिने योजना ल्याएको छ । बैंकले ल्याएको यस योजनाले नेपाली रुपैयाँ तथा विदेशी मुद्रामा खोलिएको मुद्दती रसिदको सट्टामा नेपाली रुपैयामा कर्जा प्रदान गर्दछ । यस्तो कर्जा मुद्दती रसिदको मूल्यकको अधिकतम ९० प्रतिशत सम्म हुने गर्दछ ।

बैंकले १ प्रतिशतमा नेपाली रुपैयामा कर्जा प्रदान गर्नेछ भने २ प्रतिशत बेसरेटमा र सो भन्दा बढी कर्जा लिन चाहेको अवस्थामा २ प्रतिशत सम्म कर्जा प्रदान गर्दछ ।

व्यक्तिगत धितो कर्जा
बैंकले अन्य कर्जाको योजना सार्वजनिक गरेसँगै व्यक्तिगत धितो कर्जाको पनि योजना ल्याएको छ । बैंकले कुनै पनि क्षेत्रमा लगानी गर्न स्थिर सम्पत्ति धितोको रुपमा प्रदान गर्न सक्ने नियमित आयस्रोत भएका मध्यम तथा उच्च मध्यम वर्गका उद्यमी/व्यवसायी वा व्यक्तिलाई प्रदान गर्न यस्तो नयाँ कर्जाको व्यवस्थापन गरेको हो ।

बैंकले विशेष गरी नियमित, पर्याप्त र स्थिर आम्दानी भएका नेपाली नागरिक/उद्यमी/व्यवसायीलाई लक्षित गरेर नयाँ प्रडक्ट ल्याएको जनाएको छ । बैंकले २५ लाख देखि २ करोड रुपैयाँ ऋण दिने भएको छ, भने बैंकबाट लिएको सो ऋण त्रैमासिक वा समान मासिक किस्ताको आधारमा चुक्ता गर्नेपर्नेछ । त्यस्तै ओभरड्राफ्ट मार्फत ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने सुविधा गरेको छ । अधिविकर्ष कर्जाको हकमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ ।

सेयर कर्जा (मार्जिन कर्जा)
बैंकले सेयर बजारमा लगानी गर्ने इच्छुक व्यक्तिहरूलाई ३ लाख देखि ५० लाख रुपैयाँ ऋण दिने भएको छ । बैंकले आम व्यक्तिको आर्थिक क्षमता बलियो होस भन्ने उद्देश्यले सेयर मूल्यको ६५ प्रतिशत ब्याजदरमा ऋण प्रदान गर्ने योजना ल्याएको हो । यस बैंकले सूचिकृत सार्वजनिक संस्थानको सेयरको सुरक्षणमा पनि कर्जा प्रदान गर्दछ । बैंकले नेपाल स्टक एक्स्चेन्जमा सुचीकृत विभिन्न संघ संस्थाहरुको सेयरको धितोमा निश्चित मापदण्ड भित्र रही सेयर धितो कर्जा प्रदान गर्दछ ।

बैंकबाट सेयरमा लगानी गर्न लिएको उक्ता कर्जा मासिक, त्रैमासिक वा अन्तिममा सम्पूर्ण साँवा र ब्याज एकै पटकमा चुक्ता गर्नुपर्ने हुन्छ । त्यस्तै कर्जा अवधि १ वर्ष भित्र (नवीकरण गर्न सकिने) व्यवस्था पनि रहेको छ ।

शैक्षिक कर्जा
बैंकले विदेशमा उच्च शिक्षा अध्ययनका लागि अर्थिक आवश्यकता पुरा गर्न बेसरेटमा ५ प्रतिशत शैक्षिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ । नियमित पर्याप्त र स्थिर आम्दानी भएएका नेपाली नागरिकलाई ५ लाखदेखि ५० लाख रुपैयाँ ऋण प्रंदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । यो नयाँ प्रडक्टमा विद्यार्थीहरूको सुविधाको लागि आवधिक कर्जाको हकमा लगानी गरेको ३५ प्रतिशत ब्याज सहित बाँकी ६५ प्रतिशत ब्याज समान मासिक किस्ताको आधारमा १० वर्ष भित्र चुक्ता गर्नुपर्ने हुन्छ ।

उच्च शिक्षा अध्ययनका लागि बैंकले ओभरड्राफ्ट सुविधामा १० लाख रुपैयाँ ऋण लिन सकिनेछ । अधिविकर्ष कर्जाको हकमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानु परेमा विद्यार्थीहरूलाई सहुलियत दर तथा ग्राहक मैत्री शैक्षिक कर्जा प्रदान गर्दै आइरहेको छ ।

सरकारी बण्ड र बैंक बण्डको सुरक्षणमा दिने कर्जा
हिमालयन बैंकले १ प्रतिशतमा सरकारी बण्ड र बैंक बण्डको सुरक्षणमा लोन प्रदान गर्नेछ । सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेका विभिन्न बण्ड, प्रतिज्ञापत्र, स्टकको धितोमा कर्जा प्रदान गर्ने बैंकलले प्रतिवद्धता जनाएको छ । यस्तो कर्जा बण्ड, प्रतिज्ञापत्र, स्टकको मूल्यको अधिकतम ९० प्रतिशतसम्म हुने गर्दछ । साथै बैंकले अन्य वाणिज्य बैंकहरु द्वारा जारी गरिएका बण्डको धितोमा पनि कर्जा प्रदान गर्दछ ।

सहुलियत पूर्ण कर्जा

बैंकले अन्य कर्जाको आयोजना गरेसँगै सहुलियत पूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको छ । १ लाख देखि ५० लाख रुपैयाँ सम्म ऋण लिन सकिनेछ । बैंकबाट लिएको उक्त कर्जा वार्षिक नवीकरणको आधारमा ७ वर्षसम्म रहेने छ । समान मासिक वा त्रैमासिक किस्ताको आधारमा ऋण चुक्ता गर्नेपर्ने हुन्छ, साथै अधिविकर्स कर्जाको हकमा भने त्रैमासिक रुपमा ब्याज भुक्तनी गर्नुपर्ने व्यवस्था रहेको छ ।

साना व्यक्तिगत व्यापार कर्जा (व्यक्तिगत)
बैंकले कुनै पनि सम्पत्ति किन्न वा आफ्नो स्वामित्वको सम्पत्तिको सुरक्षणमा कर्जा प्राप्त गर्ने उद्देश्यले भरपर्दो आम्दानी भएका व्यावसायीक/व्यापारीहरूलाई लक्षित गरेर बेसरेटमा ५ प्रतिशत प्रदान गर्ने गरी व्यक्तिगत कर्जा सार्वजनिक गरेको छ । जुन सुकै व्यापार व्यवसायमा चालु पुँजी र स्थिर सम्पत्तिको आवश्यकता पुरा गर्नका लागि न्यूनतम आधारभूत योग्यता/मापदण्ड सहित नयाँ प्रडक्ट ल्याएको हो ।

‘व्यापारिक आय, तलब, घरभाडा, रेमिट्यान्स, मुद्दतीको ब्याज आम्दानी आदि भएका व्यक्तिले कुनै पनि सम्पत्ति किन्न वा आफ्नो स्वामित्वको सम्पत्तिको सुरक्षणमा व्यापार व्यवसायमा चालु पुँजी र ‘स्थिर सम्पत्ति’लाई बुझाउँछ ।

भविष्यमा केहि गर्न चाहने इमानदारी र जोसिला व्यक्तिले ५ लाखदेखि ५० लाख रुपैयाँ बैंकबाट ऋण लिन सक्ने छन् । उक्त लोन समान मासिक किस्ताको आधारमा १० वर्ष भित्र पुरै चुक्ता गर्नुपर्ने हुन्छ । त्यसैगरी चालु पुँजीमा ४ लाख रुपैयाँ सम्म लिन सकिन्छ । वार्षिक नवीकरणको आधारमा उक्त कर्जा सबै चुक्ता गर्नुपर्ने हुन्छ ।

सुविधा कर्जा
बैंकले सामाजिक धार्मिक समारोहहरू जस्तै विवाह, पास्नी, ब्रतवन्ध, आदि, घरका साज–सजावटका सामान खरिद गर्न, परिवारको स्वास्थ्य जाँच र उपचार भ्रमणमा आर्थिक आवश्यकता पुरा होस भन्ने उद्देश्यले यो सुविधा कर्जा ल्याएको छ ।
नियमित, पर्याप्त र स्थिर आम्दानी भएका मध्यम र उच्च मध्यम वर्गका व्यक्ति लक्षित गरेर बेसरेटमा ५ प्रतिशत प्रिमियम थपेर बैंकले यस्तो कर्जा प्रदान गर्दछ । आफ्नो आर्थिक आवश्यकता पुरा गर्न चाहने व्यक्तिहरूले २ लाखदेखि ४० लाख रुपैयाँ सम्म ऋण लिन सकिन्छ ।

समान मासिक किस्ताको आधारमा १ वर्षदेखि १० वर्ष भित्रमा पुरै चुक्ता गर्नेपर्ने हुन्छ । त्यस्तै सुविधा कर्जा (ओभरड्राफ्ट सुविधा) मा भने २ देखि १५ लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स