‘गण्डकी बिजनेशका हिसाबले सम्भावनै सम्भावन बोकेको प्रदेश हो, मनाङको चामेमा पनि हाम्रो सेवा चुस्त छ’

सिटी डेभलपमेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका हरि प्रसाद अर्याल मेगा, सानिमा बैंक हुँदै एक महिना अघिमात्रै सिटिजन्स बैंकको गण्डकी प्रदेश प्रमुखको भुमिकामा पुगेका छन् । २०६६ सालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका अर्याल सिटिजन्स बैंकमा प्रदेश प्रमुखको भुमिकामा पदस्थापन हुनुअघि सानिमा बैंकको पोखरा न्यूरोड शाखामा ब्रान्च म्यानेजरको रुपमा कार्यरत थिए । पोखराको माटो चिनेका र व्यवसायिक वातावरण राम्रोसँग बुझेका अर्यालले मार्केटिङमा एमबीए गरेका छन् । सिटिजन्स बैंकको संस्कृतिलाई अगाल्दै लोन रिकभरी र बिजनेश ग्रोथमा बैंकलाई अब्बल बनाउने उनको प्रतिवद्धता छ । लगानीका हिसावले गण्डकीका हरेक क्षेत्रमा सम्भावन देख्ने उनै प्रदेश प्रमुख अर्यालसँग हाम्रोअर्थ डटकमले गरेको कुराकानीको सारः

गण्डकी प्रदेशमा सिटिजन्स बैंकको उपस्थिति कस्तो छ ?
पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा सिटिजन्स बैंकको १३ वटा ब्रान्च (शाखा) सञ्चालनमा छन् । उक्त शाखामा ७४ जना कर्मचारीहरूले सेवा दिइरहेका छन् । लमजुङको राइनास नगरपालिकामा बैंकले एक्टेशन काउण्टरमार्फत सेवा दिइरहेको छ । हामीले मनाङको चामे, बाग्लुङको बेनीलगायतका विकट हिमाली जिल्लादेखि तराईको नवलपरासी गाउँ गाउँमा गएर सेवा दिइरहेका छौं । मनाङको चामे आफैमा विकट ठाउँ हो । यहाँ पनि हाम्रो सेवा अन्य ठाउँको जस्तै चुस्त र छिटो छरितो सेवा दिइरहेका छौं ।

गाउँपालिकामा पनि हाम्रो बैंकको उपस्थिति राम्रो छ । पोखरामा मात्रै सिटिजन्स बैंकको ३ वटा शाखा सञ्चालनमा छन् । गण्डकी प्रदेशमा १० ठाउँमा एटीएम मेशिन जडान गरिएको छ । यस हिसावले यस प्रदेशमा बैंकको उपस्थिति राम्रो नै भएको मान्नु पर्छ । भोलिका दिनमा दुई वटा ब्रान्च थप्ने योजना बैंकले बनाएको छ । अहिलेसम्म कहाँ कहाँ थप्ने भनेर स्थान क्लियर भइसकेको छैन ।

यहाँको कुल बचत साढे ४ अर्ब रुपैयाँको हाराहारीमा छ । हामीले पौने ४ अर्ब लोन प्रवाह गरेका छौं । समग्रमा गण्डकी प्रदेशको प्रर्फमेन्स एकदमै राम्रो देखिन्छ ।

बैंकले कसरी काम अगाडी बढाइरहेको छ ?

म सिटिजन्स बैकमा आएको एक महिना भयो । पौष मसान्त आएकोले पुरानो लोनहरू उठाउने प्रयास गरिरहेका छौं । बजारमा महँगी र आर्थिक मन्दीको प्रभाव छ । अहिले सबैतिर अप्ठयारो परेको अवस्था छ । त्यस कारण पनि बजारलाई मध्यनजर गरेर कसरी ग्राहकहरूलाई सहज र सुविधाजनक हिसावले सेवा दिन सकिन्छ भनेर हामी लागिरहेका छौं । अहिलेको हाम्रो प्राथमिकता भनेको लोन रिकभरी र बिजनेश ग्रोथ गर्नुनै हो ।

पोखरा एक पर्यटकीय नगरीे, अहिले पर्यटकहरू आउने क्रम बढ्दो छ, पर्यटक बढ्नु भनेको आर्थिक चहलपहल बढनु हो, बैंकमा यस्को कस्तो असर परेको देखिन्छ त ?

पर्यटकीय नगरी भएकोले गण्डकी प्रदेश बिजनेशका हिसाबले पनि राम्रो मानिन्छ । हाम्रो उपस्थिति र एउटा संस्कार भित्र बसेर प्रदान गर्ने सेवाका कारण बैंकको प्रर्फमेन्स उत्कृष्ट भएको मान्नुपर्छ । अन्य बैंकको तुलनामा हाम्रो बैंकले दिने वित्तीय सेवा सन्तोषजनक भएको आम ग्राहकले बुझाइ छ । हामीले दिएको बैंकिङ सेवाको प्रतिक्रिया राम्रो आएको छ ।

पोखरा पर्यटकीय क्षेत्र भएकोले पर्यटकको चलहपहलसँगै अर्थतन्त्र चलायमान बनाउन अन्य ठाउँको भन्दा केहि सहज भएको छ । अर्थतन्त्रका साथै बैंकिङ क्षेत्रमा पनि यसको प्रभाव स्पष्ट देखिन्छ । पोखरामा धेरै इन्डियन पर्यटक आउने भएकाले उनीहरूले गर्ने खर्च पनि राम्रो नै भएको हामीले पाएका छौं ।

पोखरा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको मुख्य केन्द्र विन्दु हो । यो हिसाबले यहाँका उत्पादनले पनि सहज बजार पाएका छन् । उद्यमी व्यवसायीको व्यवसाय फस्टाउँदो अवस्था छ । ६/७ महिनाको तुलनामा बजार केहि चलायमान भएको छ । एक हिसावले भन्दा पोखरा सम्भावना नै सम्भावनाले भरिएको ठाउँ हो । यहाँ आशा गर्न सक्ने प्रशस्तै ठाउँ छ ।अहिले पोखरामा पर्यटकहरू बढी आउने सिजन हो । बजारमा चहलपहल बढेको छ, व्यापार, व्यवसाय गर्न केहि सहज भएको महशुस (फिलिङ) गर्न थालिएको छ ।

विशेष गरी गण्डकी प्रदेशमा कुन कुन क्षेत्रबाट कर्जाको माग बढी आउँछ ?

यहाँ एक/दुईवटा बाहेक ठूलो लोन हुँदैन् । रिटेल बेस लोन हुन्छ, जस्तो घर बनाउने, व्यापार गर्ने लगायतको लोनको पनि डिमान्ड आउने गरेको छ । बैंकले पोखरामा महिला उद्यमीहरूलाई प्राथमिकता राखेर बिना धितो लोन दिइरहेको थियो ।

बैंकले महिला उद्यमीहरूलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिहेको छ । अन्य कर्जाका लागि पनि बैंकले उत्तिकै चासो देखाएर सहजीकरण गरिहरेको छ बैंकले एग्रो लोनलाई पनि प्राथामिकता (फोकस ) मा राखेको छ । अब चाँडै यस क्षेत्रमा ८/१० करोडसम्मको लोन पनि उपलब्ध गराउने विषयमा बैंकमा छलफल भइरहेको छ ।

यहाँ गर्न सकिने धेरै क्षेत्र छन् । यसको भविष्य पनि राम्रो छ । पोखरा पर्यटकीय क्षेत्र भएकोले यहाँ होटल व्यवसाय गर्नको लागि लोन लिन आउने धेरै छन् । २०७२ को भूकम्प र कोभिड–१९ को माहामारीले गर्दा पहिलाको जस्तो लोनको माग धरै आएको छैन् ।

पोखरामा ६० हजार पर्यटकहरू बस्ने कोठाहरू छन् । त्यसमध्ये २० हजार कोठा दैनिक प्रयोग हुन्छ । कास्कीमा होटलका ४० हजार कोठामा अहिले पनि पर्यटकहरू आएर बस्ने गर्छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कस्ता कस्ता कार्यक्रमहरू गरिरहनु भएको छ ?

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक प्रभाव पार्ने कामहरू गर्दै आएको छ । अमरापुरी ब्रान्चले लक्ष्मी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ भने भोटेओडार शाखाले भविष्य निर्माण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेका छ । साथै, प्रहरीलाई मल्टि ड्रग टेष्ट किट निःशुल्क प्रदान गरेको छ ।

नवलपुरको धारा पानी अवस्थित विद्यालयका विद्यार्थी र अविभावकसँग वित्तीय साक्षरता सम्बन्धी छलफल कार्यक्रम गयौं । विद्यार्थी भर्ना गर्न पनि हाम्रो बैंकले सहयोग गरेका छ । बैंकले धर्मपानी शाखाबाट सिमान्तृकत विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति पनि प्रदान गरेको छ । बेनी ब्रान्चबाट हेल्थ क्याम्प सञ्चालन गरेको छ भने कोल्हुवा शाखाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम र खानेपानीको सुधारको लागि नगद सहयोग गरेको छ ।

पोखराको हस्पिटल चोक ब्रान्चले सिर्जन विकास केन्द्रलाई खेलकुदमा सुधार गर्नको लागि खेलकुद सामग्री सहयोग गरेको छ । कावासोती ब्रान्चले वृक्षारोपन गर्नुका साथै पछाडी परेका महिलालाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान प्रदान गरेको छ ।

साथै हामीले गण्डकी प्रदेशमा अवस्थित बिन्दबासीनी, भद्रकाली, मौलाकालीका र नवलपरासीमा दशैका बेला पूजा गर्ने गरेका छौं । कन्ट्याक्टरहरूसँग मिलेर डोनेसन पनि गरेका थिर्यौ । प्राय बैंकका सबै ब्रान्चहरूले स्थानीय तहसँग मिलेर स्थान विशेषको आवश्यता अनुसार काम गरिरहेको छ ।

बैंक धर्म र संस्कृतिदेखि हरेक कुरामा अगाडी छ भन्न खोज्नु भएको हो ?
हो, हामीले धर्म र संस्कृतिलाई जर्गेना गर्ने गरी पूजा आजदेखि पछाडी परेका महिला तथा अन्य समुदाय, आर्थिक अवस्था कमजोेर भएका विद्यार्थी, अस्पतालमा उपचार गर्न नसकेका विमारीलाई सहयोग गरिरहेका छौं । बिजनेशको कुरा त छँदैछ ।

ओभरलमा अहिले बैंकहरूको एनपीएल दुई अंकको नजिक छ भन्छन् नि, कस्तो छ लोनको रिकभरी ?

बैंकहरूले यस्तो डाटा तलमाथि गर्न मिल्दैन राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हामीले रिकभर गरेका छौं। ग्राहकहरूलाई राहत दिएका छौं । त्यो दिइएको राहतलाई पनि एमपीएलमा हाल्ने हो भने तपाईले भनेको जस्तो दुई अंकको नजिक पुग्ला, नत्र पुग्दैन । त्यो हिसाबले हेर्दा लोन थप्न मिल्दैन् । गत वर्षमा हाम्रो रिकभरी धेरैनै थियो । यो वर्ष अझ सुधारका संकेतहरू देखिएको छ, सबैतिर राम्रो हुँदै गएकोले राम्रो हुर्ने अपेक्षा गरेको छु ।

सिटिजन्स बैंकले दिइएको सेवा सुविधामा ग्राहकहरूको प्रतिक्रिया कस्तो छ ?

बैंकले दिएको सेवा सुविधाबाट यहाँका ग्राहकहरूबाट कुनै पनि नराम्रोको गुनासो आएको छैन् । ग्राहकहरू छिटो र झन्झटरहित सेवा चाहन्छन् । हामीले दिने भनेकै सर्भिस हो, सर्भिसमा कुनै कम्प्रमाइज गर्दैनौं । सिटिजन्स बैंकप्रति ग्राहकहरूको नकारात्मक प्रतिक्रिया अहिलेसम्म आएको छैन र हामी त्यो आउन पनि दिँदैनौ । हामीले ग्राहकप्रति प्रतिवद्ध भएर राम्रो गरिहरेका छौं । अझै राम्रो गर्नु पर्छ भन्ने सोच र योजना हाम्रो छ । सिटिजन्स बैंकको आफ्नै ग्राहकमैत्री संस्कार छ ।

सिटिजन्स बैंक एउटा संस्कारमा हुर्किएको बैंक हो । त्यहि संस्कारलाई आत्मसाथ गर्दै अर्थात त्यसैलाई आफ्नो पहिचान बनाएर बैंक अगाडी बढीरहेको छ । त्यसो भन्दैमा कहिले समस्या नआउने भने होइन । समस्या आएका बेला ग्राहकहरूलाई सन्तुष्ट पारेर पठाएका छौं ।

राजधानीका ग्राहकले पाउने सेवा सुविधा र गण्डकीे प्रदेशका ग्राहकले पाउने सेवामा केहि भिन्नता छ ?

कुनै भिन्नता छैन्, काठमाडौंको शाखामा जाने ग्राहकले जे जस्तो सुविधा पाउँछन्, गण्डकी प्रदेश कुनै गाउँमा ग्राहकले मात्रै होइन देशभरका जुनसुकै शाखामा गएर सेवा लिएपनि ग्राहकले पाउने सुविधा एउटै हो । कुनै फरक छैन् । अझ काठमाडौंमा भन्दा बाहिर छोटो समयमा सुविधा लिन सकिन्छ ।

पोखरामा व्यापार व्यवसाय गर्न कतिको सहज छ ?
पोखरामा व्यापार व्यवसाय गर्न सहज भएपनि रिटेल मात्र लगानी गरेर टिक्न सकिदैन । त्यसकारण पनि अवस्था हेरेर पुष मसान्त पछाडी अलि फरक ढंगले काम गर्ने योजना बनाएका छौं । अबका दिनमा बैंकले रिटेल लोनका साथै ठूला ठूला रिर्सोट, ठूला एग्रिकल्चर फर्म, ठूला ठूला ह्याटरी, सप्लार्यर तथा निर्माण क्षेत्रमा पनि लगानी गर्ने योजना बनाएको छ । कावासोतीमा एग्रिकल्चरमा करिब ६०/७० करोडको लगानी गर्ने विषयमा छलफल भइरहेको छ । अहिले बजारमा थोरै सहज भएको हुँदा हामी एग्रेसिभ रुपमा अगाडी बढने योजनामा छौं ।

अहिले तपाईहरूको चुनौती भनेको के हो ?
अहिले हाम्रो मुख्य चुनौती भनेको म्यानपावर टिकाउनु हो । अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रका कर्मचारीहरू पनि विदेशीने क्रम बढ्दो छ । प्राय बैकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरू बाहिरी देशमा जान थालेका छन् ।

एक्सपेरिएन्स कर्मचारीहरू जागीर छाडने युके, अष्ट्रेलिया र क्यानडा जान थालेका छन् । त्यो ठाउँमा नयाँ कर्मचारीलाई काम सिकाउन ७/८ महिना लाग्छ । यसरी कर्मचारीहरूले बैंक छाडन थाले पछि बैंकिङ क्षेत्रमा पनि कर्मचारीको समस्या देखिएको छ । एक महिनाको अन्तरालमा ३ जना अफिसर लेभलको कर्मचारी विदेश उडिसकेका छन् ।

तपाई सिटिजन्स बैंकमा आउनु भएको कति समय भयो ?
मैले सिटिजन्स बैंकमा काम गर्न थालेको एक महिना भयो । यो भन्दा अगाडी सानिमा बैंकमा थिए । म अन्य क्षेत्रबाट आएको भए बैंकको नियम बुझनलाई समय लाग्थ्यो । ६/७ महिना त्यसैमा बित्थ्यो होला । पोखरा बेसमै काम गरेकोले मलाई यहाँको माटो, उद्यम व्यवसाय बुझ्न गाह्रो भएन । पहिला पनि यहि बेसमा काम गरेको भएर मलाई यहाँ काम गर्न कुनै समस्या परेको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स