एकल अंक ब्याजदरमा यी बैंकबाट लिन सकिन्छ घरकर्जा

काठमाडौं । बैंकहरूको कर्जाको ब्याजदर औसतमा एकल अंकमा झरेको छ । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । अधिक तरलता कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई कर्जाको ब्याजदर पनि थप सस्तो बन्दै अएको छ ।

लागत घटेसँगै बैंकहरूको आधार दर पनि घट्न थालेको छ । पछिल्लो महिना बैंकहरूले निक्षेपको ब्याजदर घटेसँगै कर्जाको पनि ब्याजदर घटाउन थालेका छन् । हाल बैंकहरूको औसत आधार दर ९.८५ प्रतिशत छ । आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ, ऋणीले जस्तो ब्याजदरमै कर्जा पाउँछन् ।

बैंकहरूले कर्जा लगानी बढाउन विभिन्न योजना अघि सारेका छन् । यो योजना अन्तर्गत बैंकहरूले घर कर्जा केन्द्रित देखिएका छन् । अहिले अधिकांश बैंकहरूले १० प्रतिशतभन्दा कम फिक्स ब्याजदरमा नै घर कर्जा दिने योजना सार्वजनिक गरेका छन् । अझ भनौं बैंकहरूले कम ब्याजदरमा घर कर्जा दिन बैंकहरूबीच प्रतिस्पर्धा चलेको जस्तो देखिन्छन् ।

लामो समयदेखि सुस्ताएको अर्थतन्त्र तथा घर जग्गा कारोबारलाई नै चलायमान बनाउन बैंकहरूले न्यूनतम तथा फिक्स ब्याजदर तोकेर घर कर्जाको अफर ल्याएका हुन् । अझ यो कर्जा फिक्स (स्थिर) दरमा प्रतिस्पर्धी हिसावले ल्याउनु पर्ने हुन्छ ।

गत शुक्रवार मात्रै ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना ल्याएको छ । बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्मको कर्जा सीमा भएको कर्जा योजना ल्याएको हो ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना जनाएको छ । बैंकको उक्त घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् । तर, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ प्रतिशत फिक्स ब्याजदर तोकेको छ ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने जनाएको छ । आवश्यक कागजातहरू पेस गरेको ३ कार्य दिनभित्र बिना झन्झट कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

नबिल बैंकले पनि १० प्रतिशतभन्दा कम ब्याजदरमै घर कर्जा दिने भएको छ । नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने गरी ९.९९ प्रतिशत फिक्स ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । सुलभ ब्याजदरको ‘नबिल ढुक्क घर कर्जा’ योजनामार्फत ३० वर्षसम्मका लागि कर्जा लिन सकिने बैंकले जनाएको छ ।

सिटिजन बैंकले पनि फिक्स रेटमै घर कर्जा उपलब्ध गराउने भएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना अन्तर्गत बैंकले यस्तो घर कर्जा योजना ल्याएको हो । बैंकले १०.९९ प्रतिशत स्थिर ब्याजदरको घर कर्जा योजना ल्याएको छ । यसको अवधि भने ७ वर्षसम्मको हुने बैंकले जनाएको छ । बैंकबाट घर कर्जा लिँदा ऋणीले ७ वर्षसम्म एउटै १०.९९ प्रतिशत ब्याजदर तिरे पुग्छ ।

एनमबि बैंकले बैंकले सस्तो ब्याजदरको घर कर्जा योजना ल्याएको छ । बैंकले फिक्स ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले स्थिर ब्याजदरको ‘सुलभ घर कर्जा’ योजना अघि सारेको हो । बैंकले १० वर्षसम्मका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदरको घर कर्जा योजना ल्याएको हो । यस्तो योजनाले घर खरिद गर्न वा निर्माण गर्ने योजनामा रहेका ग्राहकहरू लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

सिद्धार्थ बैंकले पनि पहिलो १०.७४ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ‘नारीको नाममा घर, आकर्षक ब्याजदर’ भन्ने नारासहित योजना अघि सारेको छ । नारीको नाममा घर जग्गा खरिद गर्न प्रोत्साहन स्वरुप नियमित भन्दा अझै कम गरि १०.७४ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।

कामना सेवा विकास बैंकले पनि स्थिर ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको छ । कामना सेवाले ‘सपनामा हैन अब, वास्तवमै घर समृद्धिको सपनालाई कामना सेवाको भर’ सुलभ ब्याजदरको कर्जा योजना ल्याएको हो । बैंकले ११.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिने स्किम अघि सारेको हो ।

कर्जाको अवधि भने २५ वर्षसम्मको हुने बैंकले जनाएको छ । बैंकका अनुसार पहिलो घर खरिद गर्नेले ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । बैंकको उक्त योजनामा मार्फत अधिकतम २ करोडसम्म कर्जा लिन पाइने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले पनि ११.९९ प्रतिशत फिक्स ब्याजदरमै घर कर्जा योजना अघि सारेको छ । बैंकले ‘मेरो आफ्नै घर’को नारासहित ११.९९ प्रतिशत फिक्स ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । बैंकले आवश्यक सम्पूर्ण कागजात पेस गरेको दुई कार्य दिनमै ऋण स्वीकृत हुने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स