हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने भएको छ ।

बैंकले आगामी पुस २९ गते आह्वान गरेको ३१ औं वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव राखेको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेदेखि बोलाइएको सभामा बैंकको कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप निष्काशन गर्ने अजेण्डा राखिएको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने आह्वान :

साधारण प्रस्ताव

१. एकतीसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ।व। २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण ( बैंक तथा सहायक कम्पनीहरू श्री हिमालयन क्यापिटल लि, श्री सिभिल क्यापिटल मार्केट लि. र श्री हिमालयन लघुवित्त वित्तीय संस्था लि. को वित्तीय विवरण सहितको एकिकृत विवरण) छलफल गरी स्वीकृत गर्ने,

३. संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ५ (पाँच) को निर्वाचन गर्ने,

४. साधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद १ (एक) को निर्वाचन गर्ने,

५. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक तोक्ने,

विशेष प्रस्ताव

१. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ९ मा व्यवस्था भए बमोजिम बैंकको कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप सार्वजनिक निष्काशन गर्ने । थप सार्वजनिक निष्काशन हुने साधारण सेयरको संख्या निर्धारण गर्न र सोको अंकित मूल्यमा प्रिमियम समेत थप गरि जारी हुने सेयरको प्रिमियम सहितको मूल्य निर्धारण गर्न, थप सार्वजनिक निष्काशन गरिसकेपछि बैंकको जारी तथा चुक्ता पुँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम जारी तथा चुक्ता पूँजी कायम गर्न र थप सार्वजनिक निष्काशन भए पश्चात् बैंकको साधारण सेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थापक सेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने,

२. बैंकले आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमाभन्दा माथि गरेका सहयोग अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण लगायत विभिन्न सामाजिक कार्यहरू र विभिन्न संघ संस्थाहरूलाई प्रदान गरेको कुल रकम रू ३,३३,१७,७६०र( (अक्षरेपी तीन करोड तेत्तीस लाख सत्र हजार सात सय साठी मात्र) अनुमोदन गर्ने । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकमहरूको विस्तृत विवरणहरू बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको
छ ।

३. बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएको वा हुने संशोधनको लागि नियमनकारी निकायहरूबाट स्वीकृति लिंदा वा अभिलेख गर्दा गराउँदा सामान्य हेरफेर गर्न, संशोधनसम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समितिलाई अधिकार दिने,

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स