काठमाडौं । नबिल बैंकको सहायक कम्पनीका रुपमा रहेको नबिल स्टक डिलर लिमिटेडले औपचारिक रुपमा सेवा सुरुवात गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच नबिल स्टक डिलरको औपचारिक उद्घाटन गरिएको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर उक्त डिलरको औपचारिक उद्घाटन गरेका हुन् ।
कम्पनीले यसअघि भदौ २० गतेबाट नै कारोबार सुरु गरेको भए पनि आजबाट औपचारिक रुपमा सेवा उद्घाटन गरेको हो । कम्पनीले ब्रोकरेज सेवा, मार्जिन लेण्डिङ, पोर्टफोलियो म्यानेजमेन्ट, सेक्युरिटीज अण्डरराइटिङ, इन्भेस्टमेन्ट तथा कर्पोरेट एडभाइजरी सेवा, डिपोजिटरी सहभागी (डीपी) सेवा प्रदान गर्नेछ ।
कम्पनीले ब्रोकर नं ७७ को रुपमा ब्रोकरेज सेवा प्रवाह गर्ने छ भने धितोपत्र बोर्डबाट स्टक डिलरसहित ब्रोकर लाइसेन्स पाएको छ ।
नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने विश्वास कम्पनीले लिएको छ ।
उक्त कार्यक्रममा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना,नेपाल धितोपत्र बोर्डका पूर्व उपकार्यकारी निर्देशक निरज गिरी लगायतको सहभागिता थियो ।