वाणिज्य बैंकसँगै विकास बैंकहरूले पनि धमाधम घटाउन थाले ब्याजदर, कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरूले धमाधम ब्याजदर घटाएको सूचना प्रकाशित गर्न थालेपछि विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन् । बुधबार गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले सूचना प्रकाशित गर्दै ब्याजदर घटाएका छन् । यी दुवै बैंकले आज मंसिर २७ गते बुधबारदेखि लागू हुने गरी घटाएर नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि बुधबार सूचना जारी गर्दै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत दिने निर्णय गरेको छ । यो १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर हो ।

३ देखि ६ महिनाभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत निर्धारण गरेको छ । यसअघि मंसिर १ गतेदेखि लागू हुने गरी १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर १०.६० प्रतिशत निर्धारण गरेको थियो । १ वर्षभन्दा मुनिको मुद्दती निक्षेपको ब्याजदर १०.५० प्रतिशत निर्धारण भएको थियो ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षाले गरेको नयाँ व्यवस्थासँगै शनिबारदेखि नै बैंकहरुले ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका हुन् ।

विकास बैंकहरूमध्ये सांग्रिला र गरिमा विकास बैंकले घटाएको ब्याजदरको सूचना निकाले पनि अन्य विकास बैंकहरूले अहिलेसम्म सूचना प्रकाशित गरिसकेका छैनन् ।

राष्ट्र बैंकको नीति कुरेर बसेको कुमारी बैंकले शनिबार ब्याजदर घटाएको सूचना प्रकाशित गरेको थियो । एनआईसी एशिया, एनएमबी र माछापुच्छ्रे बैंकले ब्याजदर घटाएका छन् । ती बैंकहरुले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि ब्याजदर घटाउन थालेका हुन् ।

कुमारी बैंकले शनिबार अघिल्लो महिनाको तुलनामा करिब १ प्रतिशत विन्दुले ब्याजदर घटाएर नयाँ ब्याजदर निर्धारण गरेको छ । मंसिरमा ६ महिनाभन्दा बढीको मुद्दती निक्षेपको ब्याजदर १०.०१ प्रतिशत तोकेको बैंकले मंसिर २५ गतेदेखि नै लागू हुने गरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । बैंकल ६ महिनादेखि १ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.०१ प्रतिशत तोकेको छ । १ वर्षभन्दा बढी अवधिको ब्याजदर भने ९.६१ प्रतिशत तोकेको छ ।

एनआईसी एशिया बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतमा झारेको छ । बैंकले आइतबार प्रकाशित गरेको सूचनामा ३ देखि ६ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदरलाई ७ प्रतिशतमा झारेको छ । बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दतीमा भने ८.६७ प्रतिशत ब्याज दिने जनाएको छ ।

एनएमबी बैंक लिमिटेड सोमबार मात्रै नयाँ ब्याजदर प्रकाशित गरेको छ । नयाँ सूचना अनुसार बैंकले ब्याजदर घटाएको छ । बैंकको घटेको ब्याजदर आजबाट लागु हुनेछ ।

बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यस अघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो।

साथै, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपको सो दरमा ब्याज दिने भएको हो। संस्थागत तर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ।

मंगलबारदेखि लागू हुने गरी माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । यस बैंकले सामान्य बचतमा ४.६० प्रतिशतदेखि ७.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । एलसीवाई कल डिपोजिटमा २.३० प्रतिशत तथा रेमिट्यान्स फिक्स्ड डिपोजिटमा १०.६० प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ब्याजदर ९.६० तथा संस्थागततर्फ ७.६० प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेको छ । बैंकले मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशतमा झारेको थियो।

बैंकहरूमा अधिक तरलता भएपनि केहि महिना अघिदेखि नै ब्याजदर घट्दो क्रममा थियो । राष्ट्र बैंकको नयाँ नीतिका कारण बैंकहरूले घटाउँदै गएको ब्याजदर अझ घटाउने तयारी गरिरहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स