काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शान्ति सुरक्षाको प्रत्याभूति मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको छ । दुर्गा प्रसाईंका कार्यकर्ताको अराजक गतिविधि गरी बैंकका कर्मचारी आतंकित बनाएको भन्दै बैंकले शान्ति सुरक्षाको माग गर्दै राष्ट्र बैंकलाई पत्र लखेको हो ।
मंगलबार प्रसाईंको गृह जिल्ला झापाको बिर्तामोडमा उनका कार्यकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीलाई घरैबाट उठाएर प्रहरी चौकी पुर्याएका थिए ।
स्वीकृत भएको ऋण बैंकले नदिएको भन्दै प्रसाईंका कार्यकर्तासमेत रहेका ऋणी राजेश बाँस्कोटाको नेतृत्वमा गएको ८/१० जनाको टोलीले बिर्तामोड शाखाका सह–प्रबन्धक दिपेश पनेरुको घरमा पुगेर अपहरणको शैलीमा उठाएर प्रहरी कहाँ पुर्याएका हुन् ।
प्रसाईंका कार्यकर्ताको अराजक र अभद्र व्यवहारका कारण बैंकका कर्मचारीले असुरक्षित महशुस गरेको भन्दै मंगलबार नै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शान्ति सुरक्षाको माग गर्दै पत्र पठाएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।
‘प्रसाईंका कार्यकर्ताको गतिविधिका कारण बैंकका कर्मचारीहरु आतंकित भए, काम गर्न असुविधा भयो भन्दै शान्ति सुरक्षाको प्रत्याभूति गराइदिन माग गर्दै बैंकले राष्ट्र बैंकलाई मंगलबार नै पत्र पठाएको हो’, प्रवक्ता भट्टले भने, ‘हामी यस विषयमा निकै संवेदनशील छौं ।’