काठमाडौं । मंसिर ५ गतेसम्म ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् भने अझै १० बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । अहिलेसम्म माछापुच्छ्रे, एभरेष्ट, एनआईसी एशिया, सानिमा, सिटिजन्स, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरिसकेका छन् भने अन्य बैंकहरू पनि लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् ।
वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका केही बैंकले भने वार्षिक साधारणभास नै गरिसकेका छन् भने केही बैंकले सभा बोलाएका छन् । केहि बैंक साधारणसभा बोलाउने क्रममा रहेका छन् ।
हालसम्म लाभांश घोषणा गरेका बैंकहरूमा सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकले दिएको छ । बैंकले आफ्ना सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिएको हो । असोज २८ गते बसेको बैंकको वार्षिक साधारणसभाले बैंकले घोषणा गरेको लाभांश पारित गरेको छ ।
अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सेयरधनीलाई उच्च लाभांश दिने दोस्रोमा एभरेष्ट बैंक परेको छ । बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सो लाभांशमध्ये बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले बुक क्लोजको मिति र आगामी साधारणसभा भने तय गरेको छैन ।
माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट १४ प्रतिशत लाभांश दिएको छ । जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ । असोज १८ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।
सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले बोनस ९ प्रतिशत र करसहित ५.७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कात्तिक २ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले गत आवको नाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १ प्रतिशत र कर सहित ८ प्रतिशत नगद रहेको छ ।
बैंकले मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि भन्दै मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउन सक्नेछन् ।
सिटिजन्स बैंकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको असोज २६ गतेको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ ।
सिद्धार्थ बैंकले गत आवको नाफाबाट ४.२१ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० सम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
नेपाल एसबिआई बैंकले पनि आफ्ना सेयरधनीलाई १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ६.८० प्रतिशत नगद लाभांश गरि सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड रहेको छ ।
अझै १० वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ । गत आवको नाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, लक्ष्मी सनराइज, प्रभु, नेपाल, कुमारी, कृषि विकास, प्राइम र हिमालयन बैंक रहेका छन् । सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले लाभांश वितरण गरेपनि राष्ट्रिय वाणिज्य बैंकले भने सर्वसाधारणलाई लाभांश दिनु पर्दैन ।
अहिलेसम्म लाभांश घोषणा नगरेको भए पनि गत आवको नाफाबाट नविल बैंकको लाभांश दिने क्षमता १४.६४ प्रतिशत छ । कृषि विकास बैंकको १०.०६ प्रतिशत लाभांश दिने क्षमता छ भने लक्ष्मी सनराइज बैंकले ८.९४ प्रतिशत, एनएमबि बैंकले ८.१८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
नेपाल बैंकले ६.६२ प्रतिशत, प्राइम बैंकले १ प्रतिशत, प्रभु बैंकले ०.६४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छन् । गत आवको नाफाबाट हिमालयन र कुमारी बैंकले लागनीकर्तालाई लाभांश दिन नसक्ने भएका छन् । सिभिल बैंकलाई एक्वायर गरेको हिमालयन बैंक र एनसीसीलाई मर्जरमा ल्याएको कुमारी बैंकको भने लाभांश दिने क्षमता ऋणात्मक छ ।