राष्ट्र बैंकको निर्देशनपछि २७ वाणिज्य बैंकले गरे ब्याजदर संशोधन, यस्तो छ कार्तिक महिनाको ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार बेलुका ढिला गरी बैंकहरूलाई ब्याजदर घटाउन २४ घण्टा समय दिएर दिएको निर्देशनपछि २७ वटै वाणिज्य बैंकले कार्तिक महिनाको लागि सार्वजनिक गरेका ब्याजदर संशोधन गरेका छन् । बैंकहरूले कार्तिक महिनाको लागि सार्वजनिक गरेका ब्याजदरलाई संशोधन गर्दै नयाँ ब्याजदर आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले निर्देशन दिँदै अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशत मात्र थपघट गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । निर्देशनपछि १९ वटा वाणिज्य बैंकले यसअघि घोषित निक्षेपको अधिकतम ब्याजदरमा घटाएर संशोधित ब्याजदर सार्वजनिक गरेका छन् ।

१८ वटा बैंकले संशोधित ब्याजदर प्रकाशित गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा समान ब्याजदर दिने भएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा समान ब्याजदर सार्वजनिक गर्नेहरूमा हिमालय बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक रहेका छन् ।

त्यसरी नै बैंक अफ काठमाण्डू, सेन्चुरी बैंक, प्राइम बैंक, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, एनएमबी बैंक, एनआईसी एशियाले व्यक्तिगत निक्षेपमा ९.३६ प्रतिशत र संस्थागतमा ८.३६ प्रतिशत समान ब्याज दिने भएका छन् ।

सो बैंकहरूमध्ये १२ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा यस अघि सार्वजनिक गरेको ब्याजदरमा घटाएर नयाँ संशोधित ब्याजदर सार्वजनिक गरेका हुन् भने बाँकी ६ वटाले बढाएर ब्याजदर प्रकाशित गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनपछि नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, नेपाल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र प्रभु बैंकले भने यसअघिको सार्वजनिक गरेको ब्याजदरमा थप गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

वाणिज्य बैंकहरूले पछिल्लो पटक सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ९.५५ प्रतिशत र सबैभन्दा थोरै प्रभु बैंकले ८.५७ प्रतिशत निक्षेपमा ब्याजदर दिने भएको छ ।

माछापुच्छ्रे, सानिमा, सनराइज, एडीबीएल, सिटिजन्स बैंकले भने व्यक्तिगत मुद्दतीमा ८.८७ प्रतिशतदेखि ९.३५ प्रतिशतसम्म र संस्थागतमा ७.५७ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतीको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ ।

कात्तिक महिनामा लागू हुने गरी अधिकांश बैंकहरुले असोज मसान्तमै व्यक्तिगतमा भन्दा बढी संस्थागत मुद्दतीमै ११.१० प्रतिशतसम्म ब्याजदर घोषणा गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स