काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैकिङ सम्बन्धी आम सर्वसाधारणलाई जानकारी गराउने भिडियो सार्वजनिक गरेको छ । पछिल्लो समय नेपालमा विद्युतीय भुक्तानी अर्थात डिजिटल कारोबार बढ्दै गएकोले यसबाट हुन सक्ने जोखिमबाट जोगिन बैंकले यस्तो भिडियो सार्वजनिक गरेको हो । बैंकले डिजिटल कारोबार गर्दा के के कुरामा ध्यान दिने, कसरी सुरक्षित कारोबार गर्ने लगायतका जानकारी भिडियोमार्फत सार्वजनिक गरेको छ ।
नेपालकै चर्चित नायिका प्रियंका कार्कीले अभियन गरेको उक्त सन्देशमूलक भिडियोमा पसलमा राखेका गुडियाले सुरक्षित डिजिटल कारोबार गर्न सिकाएका छन् ।
नेपालका चर्चित नायिका प्रिंयका कार्कीलाई पनि डिजिटल बैंकिङसम्बन्धी पूर्ण जानकारी नभएको र यस विषयमा उनको पसलमा राखेको गुडियाले उनलाई सुरक्षित कारोबार गर्न अपनाउनु पर्ने प्रक्रिया तथा उपायहरूका विषयमा सुनाएका छन् ।
यस भिडियोमा गुडिया पसलको साहुनी बनेकी सोविता(प्रियंका) लाई एटीएम कार्ड बनेको भन्दै बैंकबाट फोन आउँछ । सिटिजन्स बैंककी कर्मचारी परीक्षा (कविता)ले सोवितलाई फोन गरेपछि उनले गुडियाहरूलाई तिमीले कुरा सुन्यौ, मेरो एटीएम कार्ड रेडी भयो रे, भनिन् । त्यसपछि गुडियाहरूले पालैपालो डिजिटल बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारीक वेवसाईटबाटमात्रै प्रयोग गर्न र आधिकारीक एप मात्र डाउनलोड गर्नुपर्ने सुझाए । अनलाइन बैंकिङ कारोबार गरेपछि खुलै छोड्नु नहुने र तुरन्तै लक गर्नुपर्ने पनि भिडियो मार्फत सन्देश दिइएको छ ।
अनलाइन बैंकिङको लागि वेबसाइटको यु.आर.एल सधै टाइप गर्नुपर्छ । कहिल्यै पनि ईमेल लिंक वा अन्य कुनै लिंक अन्य क्लिकसँग कनेक्ट गर्न नहुने, अनलाइन बैंकिङका लागि मोबाईल नम्बर, ओटीपी र फिङ्गर प्रिन्ट आदिको प्रयोग गर्नु पर्ने सुझाइएको छ । साथै डिजिटल कारोबार गर्दा सबै किसिमका अलर्ट सेवाहरु लिन समेत आफ्नो साहुनीलाई गुडियाहरूले सुझाव दिएका छन् ।
हामीले आफ्नो बैंकको स्टेटमेन्ट समय समयमा चेक गरिरहनु पर्छ । साथै बैंक खाता, पासवर्ड, पिन कोर्ड, ओटीपी, पिन, ट्रान्जेक्सन पिन कसैलाई पनि दिनु हुँदैन ।
अनलाईन बैंकिङको लागि बलियो पासवर्ड बनाउनु पर्छ । र बेला बेलामा परिवर्तन गरिरहनु पर्छ । आफ्नो पासवर्ड कुनै पनि ब्राउजर आदीमा यस्तो पिन नम्बर तथा पासवर्ड सेफ गर्नु हुँदैन । सार्वजनिक वाईफाईबाट मोबाईल बैंकिङको प्रयोग गर्नु हुँदैन । गरि हाले पनि लग आउट साइन आए नआएको कुरामा विशेष ध्यान पुर्याउनु पर्छ ।
यदि डिजिटल कारोबार गर्दा शंका लागेमा वा यस्तो गतिविधि देखिएमा तथा आफ्नो एटीएम कार्ड हराएको खण्डमा तुरुन्तै बैंकमा सम्पर्क गरि कार्ड ब्लक गर्न लगाउनु पर्छ । माथि उल्लेख गरिएको कुरामा ध्यान पुर्याउन सकियो भने आफ्नो डिजिटल कारोबार सहज र सुरक्षित तरिकाले गर्न सकिन्छ भन्ने सन्देश भिडियोले दिएको छ ।
सिटिजन्स बैंकले सार्वजनिक गरेको सुरक्षित डिजिटल बैंकिङ कारोबारसम्बन्धी भिडियोमा गुडिया र साहुनी सोविताबीच भएको कुराकानी
सोविता: तिमीले कुरा सुन्यौ, मेरो एटीएम कार्ड रेडी भयो रे !
सोविता आफ्नो मोबाइलमा हेर्दै): अब म पनि मोबाइल बैंकिङ एप डाउनलोड गर्छु, अनि त्यसपछि त सबै कारोबार डिजिटल्ली गर्न मिलिहाल्छ नि ! (आफैसँग कुरा गर्दै )
(आवाज आउँछ): सबै कारोबार त डिजिटल्ली त गर्ने तर, डिजिटल्ली आफ्नोे पैसाको सुरक्षा गर्न आउँछ ?
छक्क पर्दै खेलौना पसलकी साहुनी सोविता को बोल्या हँ भर्खर? भन्दै दायाँबायाँ हेर्छिन्।
फेरि, अज्ञात आवाज आउँछ: छक्क पर्नै पर्दैन। हामीलाई यति माया गर्ने साहुनीको पैसा सुरक्षित राख्न हामीले पनि त हेल्प गर्नुपर्यो नि !
साहुनी सोविताले बल्ल पत्ता लगाउँछिन् उक्त अज्ञात आवाज खेलौनाबाट आएको हो भनेर । गुडियाहरू कसरी बोल्छन् भन्ने लाग्छ उनलाई ।
गुडिया: कसरी बोलेभन्दा पनि के बोलिरहेका छन् त्यो चाहिँ सुन्नुहोस् न !
अर्को गुडिया: हेर्नुस् साहुनी, डिजिटल मनीले पैसा कारोबार त सजिलो बनाएको छ तर, सँगसँगै अझ बढी सुरक्षित पनि हुनुपर्ने बनाएको छ नि !
सोविता: जस्तै, भन्न के खोजेको?
गुडिया: अनलाइन बैंकिङ लिनुभन्दा अगाडि यसका विषयमा सबै जानकारी लिनुपछ । था छ, भन्दै जान्ने पल्टिनु आफ्नै लागि घाटा हुन सक्छ ।
अर्को गुडिया: अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको अधिकारिक वेबसाइटबाट मात्रै प्रयोग गर्ने र अधिकारिक एपमात्रै डाउनलोड गर्नुपर्छ ।
अर्को गुडिया: अनलाइन बैंकिङ प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनै पनि ग्याजेटलाई पासवर्ड, पिन, प्याट्रन वा बायामेट्रिकले अनिवार्य लक गर्ने गर्नुपर्छ । बुझ्नु भो नि साहुनी ?
गुडिया: अनलाइन बैंकिङको युआरएल सधैं टाइप गर्नुपर्छ । कहिल्यै पनि ईमेल लिंक वा अन्य कुनै पनि हाइपरलिंकमा क्लिक गर्नु हुँदैन।
गुडिया: अनलाइन बैंकिङका लागि मल्टिफ्याक्टर अथेन्टिकेसन जस्तै टु फ्याक्टर अथेन्टिकेसन, मोबाइल नम्बर, ओटिपी, फिंगर प्रिन्ट आदिको प्रयोग गर्नुपर्छ ।
सोविता: अनि गुरुहरू…यो अनेक किसिमका नोटिफिकेसन अलर्ट चाहिँ लिने कि नलिने ?
गुडिया: सबै किसिमका अलर्ट सेवा लिनुपर्छ । त्यसले तपाईंको खातामा हुने कुनै पनि किसिमको गतिविधिका सूचना तुरुन्त दिने गर्छ ।
सोविता: अ केही छ कि? कि सकियो?
गुडिया: आफ्नो बैंकको स्टेटमेन्ट समय–समयमा चेक गरिरहनुपर्छ र आफ्नो बैंक अकाउन्ट, पासवर्ड, पिन कोड, सिभिसी, ओटिपी, एमपिन, ट्रान्जेक्सन पिन कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिनु हुँदैन, चाहे त्यसले बैंककै कर्मचारी नै हुँ भनेर फोन किन नगरोस्।
गुडिया: अनलाइन बैंकिङका लागि बलियो पासवर्डको प्रयोग गर्नुपर्छ र बेला–बेलामा परिवर्तन गरिरहनुपर्छ । त्यस्तो पासवर्ड कुनै पनि ब्राउजर इत्यादिमा सेभ गरेर राख्नुहुँदैन।
गुडिया: सकेसम्म सार्वजनिक वाइफाईबाट मोबाइल बैंकिङ वा अनलाइन बैंकिङ प्रयोग गर्नुहुँदैन। यदि गरिहाले लगआउट वा साइनआउट भए नभएको डबल चेक गर्नुपर्छ।
गुडिया: अनि अन्तिम कुरा, आफ्नो मोबाइल बैंकिङ एपलाई सधैं अपटुडेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि देखिए आफ्नोे बैंकलाई खबर गरिहाल्नुपर्छ र एटिएम कार्ड हराएको खण्डमा चाहिँ तुरुन्तै बैंकमा सम्पर्क गरी कार्ड ब्लक गर्न लगाउनुपर्छ ।
गुडिया: यति कुरा पालना गर्यो भने आफ्नोे कारोबार सजिलो तरिकाले सुरक्षितसँग गर्न सकिन्छ नि!
साहुनी: ल अब मैले यस्ता कुरामा एकदम ध्यान पुर्याउने भए है।
(खेलौनालाई सिरानी बनाएर पसलकै टेबलमा टाउको राखेर निदाएकी साहुनी सोविता निद्राबाट ब्युँझिन्छिन्। खेलौनाहरूसँग आफूले गरेको संवाद सबै सपनामा रहेको सम्झिँदै सुरक्षित बैंकिङबारे मनन गर्छिन्।)
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला :