१४ वाणिज्य बैंकले मंसिर महिनाको ब्याजदर घटाए, कुन बैंकको कति ?

सबैभन्दा बढी घटाउनेमा एनआईसी एशिया र एनएमबि

काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले मंसिर महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । मंसिर महिनाको लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको र बाँकी ६ बैंकले कार्तिक महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् । माछापुच्छ्रे बैंक बाहेक सबै बैंकहरूले व्यक्तिगत र संस्थागत दुबै मुद्दति निक्षेपमा समान ब्याजदर घटाएका छन् ।

कार्तिक महिनामा व्यक्तिगत मुद्दति खातामा ९.९६४ प्रतिशत अधिकतम ब्याजदर, मंसिर महिनामा ०.३३१ प्रतिशतविन्दु घटेर ९.६३२ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दति निक्षेपतर्फ भने अधिकतम ब्याजर ०.३०६६ प्रतिशत विन्दुले घटेर ७.५४६ प्रतिशतमा झरेको छ ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूमध्ये १३ वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ ।

एनआईसी एशियाले कार्तिक महिनाका तुलनामा मंसिर महिनामा ब्याजदर २.०३५ प्रतिशत विन्दुले घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.९६८ प्रतिशत कायम गरेका छ ।

एनआईसी एशिया पछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबि बैंक लिमिटेड रहेको छ । बैंकले मंसिर महिनाका लागि ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ । कार्तिक महिनामा ब्याजदर बढाएको भनेर बैंकले आलोचना खेपेको थियो । अहिले बढी ब्याजदर घटाउने दोस्रो बैंकको रुपमा रहेको एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ९.७६ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ७.७६ प्रतिशत ब्याज दिने भएको छ ।

कृषि विकास बैंकले ०.२४८ प्रतिशतले ब्याजदर घटाएको छ भने एभरेष्ट, सानिमा र प्रभु बैंकले संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपमा ०.२२४ प्रतिशतले ब्याजदर घटाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशतले ब्याजदर घटाएका छन् ।

नबिल बैंकले ०.९ प्रतिशतले ब्याजदर घटाएको छ भने स्ट्याण्डर्ड चाटर्ड बैंकले ०.२५ प्रतिशतले ब्याजदर घटाएको छ । ग्लोबल आईएमई र हिमालय बैंकले ०.४ प्रतिशत ब्याजदर घटाउँदा नेपाल एसबिआई बैंकले ०.०९७ प्रतिशतले ब्याजदर घटाएको छ ।

कार्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिने निर्णयमा सरकारी स्वामित्वको नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशल, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र प्राइम कमर्शियल बैंक रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स