काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ९१.४० प्रतिशतले घटेर ४ करोड २८ लाख रुपैयाँमा खुम्चिएको हो । गत वर्षको समीक्षाअवधिमा बैंकले ४९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा इम्पेयरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो । गत वर्ष ८९ करोड ३० लाख रुपैयाँ रहेको इम्पेयरिमेन्ट चार्ज यो वर्ष १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ७.४६ प्रतिशत र ८८.९३ प्रतिशतले घटेको छ ।
सिद्धार्थको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ ।
गत वर्ष १५ रुपैयाँ ६१ पैसा रहेको यसको प्रतिसेयर आम्दानी घटेर १ रुपैयाँ १९ पैसामा सिमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६६ पैसा छ ।