काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो ७६.४३ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्ममा बैंकले ६० करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्षको पहिलो त्रैमासमा २१ करोड ४४ लाख रुपैयाँ इम्पेरमेन्ट बैंकले चार्ज छुट्याएको बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ छुट्याएको छ । बैंकको इम्पेयमेन्ट चार्ज बढ्दा यस बैंकको नाफामा असर परेको हो ।
समीक्षा अवधिसम्म नेपाल बैंकले २ अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १६.२८ प्रतिशत धेरै हो । बैंकको सञ्चालन नाफा ८६.९१ प्रतिशतले घटेर १० करोड ३९ लाख कायम भएको छ । गत वर्ष उक्त नाफा ७९ करोड ४० लाख भन्दा धेरै थियो । हाल नेपाल बैंकको
चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २१ अर्ब ४४ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको एनपीएल (निस्कृय कर्जा) बढेर ३.८४ प्रतिशत पुगेको छ । गत वर्ष २.३६ प्रतिशत थियो ।
यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसाबाट घटेर ३ रुपैयाँ ८४ पैसा कायम भएको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ पनि ५० रुपैयाँ ३४ पैसाले घटेर २४८ रुपैयाँ ४६ पैसा कायम भएको छ । यसको वितरणयोग्य नाफा २ अर्ब ९० करोड रुपैयाँबाट घटेर ३६ करोड ७५ लाखमा झरेको छ । उक्त रकमबाट यसले १० प्रतिशत लाभांश वितरण गर्न सक्छ । गत वर्ष यसको लाभांश क्षमता ८०.५९ प्रतिशत थियो ।