काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.६२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको असोज मसान्तमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेपनि निष्क्रिय कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज बढ्दा नाफा घट्न पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.०६ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा ०.३६ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २३.८४ प्रतिशत घटेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ ७ पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ८६ पैसा घटेर १८ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ६९ पैसा रहेको छ ।
१० अर्ब १२ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ६.५४ प्रतिशत बढेको छ भने कर्जा २.११ प्रतिशत बढेको छ ।