प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरूको लगानी २९.७० प्रतिशतमात्रै

काठमाडौं । देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले प्राथमिकता प्राप्त क्षेत्रमा जम्मा २९.७० प्रतिशत लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार सरकारी स्वामित्वका बैंक बाहेक अन्य कुनै पनि बैंकले प्राथमिकत प्राप्त क्षेत्र निर्देशित लगानी पुर्याएका छैनन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार २०८० असार मसान्तसम्म वाणिज्य बैंकले कुल कर्जा लगानीको कम्तिमा ४० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले किटान गरेको क्षेत्र कृषि, उर्जा तथा जलस्रोत र लघु साना तथा मझौला उद्योगका क्षेत्रमा बैंकले कुल कर्जा लगानीको कम्तिमा ४० प्रतिशत लगानी गर्नुपर्छ । सो कर्जामध्ये कृषि क्षेत्रमा १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र लघु, साना तथा मझौला उद्योगमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यद्यपि मौद्रिक नीति २०७७/०७८ले भने वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १ करोड रुपैयाा भन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नु पर्ने व्यवस्था छ । बाँकी दुई क्षेत्रको लागि भने गत असार मसान्त (२०८० असार) सम्मलाई सीमा दिइएको थियो । यदि निर्देशित कर्जा प्रवाह नगरेका बैंकहरूले राष्ट्र बैंकलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।

आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले २०७५ असार मसान्तसम्म प्राथमिकताप्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेकोे थियो । यस अन्तर्गत कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी ५ प्रतिशत अन्य प्राथमिकताप्राप्त क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था यस बैंकले गरेको थियो ।

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपनि २०८० को असारमसान्तसम्म २० वटा वाणिज्य बैंकको यस्तो प्राथमिकता प्राप्त क्षेत्रको लगानी जम्मा २९.७० प्रतिशतमात्रै छ । त्यसमा पनि लघु, साना तथा मझौला उद्यम व्यवसायमा भने अझ कम लगानी छ ।

गत आवको अन्त्यसम्म उक्त क्षेत्रमा बैंकहरूले जम्मा ९.८५ प्रतिशतमात्रै लगानी गरेका छन। ऊर्जा क्षेत्रमा बैंकको लगानी ६.९६ प्रतिशत र कृषिमा औसतमा १२.८९ प्रतिशत लगानी रहेको छ । यसरी हेर्दा राष्ट्र बैंकको नियमलाई कुनै पनि बैंकले मानेको देखिदैन ।

कृषि क्षेत्रमा जम्मा तीन वटा बैंकलेमात्रै राष्ट्र बैंक निर्देशित कर्जा सीमामा कर्जा प्रवाह गरेका छन् । सरकारी स्वामित्वको कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंकमात्रै १५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

यी बैंकले क्रमशः ३२.२१ प्रतिशत, १५.४५ प्रतिशत र १७.९४ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । ऊर्जा क्षेत्रमा सानिमा बैंक वाहेक कुनै पनि बैंकले कर्जा निर्देशित सीमा कर्जा प्रवाह गरका छैनन् । सानिमा बैंकले भने ऊर्जा क्षेत्रमा १०.४४ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

लघु, साना तथा सझौला उद्यम व्यवसायमा भने सरकारी स्वामित्वका ३ वटै बैंकले सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन् भने निजी बैंकतर्फ कुनै पनि बैंकले निर्देशित सीमा लगानीको सीमा पुर्याउन सकेका छनन् ।

प्राथमिकता प्राप्त क्षेत्रमा कुन बैंकले गरे कति लगानी ?
सरकारी स्वामित्वको कृषि विकास बैंकको निर्देशित कर्जा ६४.११ प्रतिशत रहेको छ भने नेपाल बैंकको ४०.४२ प्रतिश रहेको छ । राष्ट्रिय वाणिज्य बैंक यस्तो कर्जा भने जम्मा ३९.०२ प्रतिशत रहेको छ ।

सो कर्जामध्ये सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने कृषि विकास बैंकले कृषि क्षेत्रमा कुल कर्जाको ३२.३१ प्रतिशत, ऊर्जामा ६.६१ प्रतिशत र लघु, साना तथा मझौला उद्यम व्यवसाय कर्जामा २६.८३ प्रतिशत कर्जा प्रवाह गरेको छ । त्यस्तै ४०.४२ प्रतिशत प्राथमिक प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्ने नेपाल बैंकले कृषि क्षेत्रमा ११.६० प्रतिशत, ऊर्जामा ६.७० प्रतिशत र लघु, साना तथा मझौला उद्यम व्यवसायमा २२.११ प्रतिशत कर्जा प्रवाह गरको छ । राष्ट्रिय वाणिज्य बैंकले ३९.०२ प्रतिशत प्रवाह गरेको कर्जामध्ये १२.३० प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको कर्जा हो भने ७.७२ प्रतिशत ऊर्जा क्षेत्रमा र लघु, साना तथा मझौला उद्यम व्यवसायमा १९.०१ प्रतिशत हो ।

निजी बैंकहरूले कसरी गरे कर्जा प्रवाह ?
सरकारी स्वामित्वको बैंक बाहेक किटान गरिएको प्राथमिक क्षेत्रमा कर्जा प्रवाह गर्ने निजी बैंकमा एनएमबि बैंक रहेको छ । एनएमबि बैंकले राष्ट्र बैंकले किटान गरेको क्षेत्रमा ३२.३८ प्रतिशत लगानी गरेको छ । नेपाल एसबिआई बैंकले ३१.२४ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेको छ ।

बैंकले कृषिमा ११.३९ प्रतिशत, ऊर्जामा ९.९५ प्रतिशत र लघु, साना तथा मझौला उद्यम व्यवसायमा ११.०३ प्रतिशत कर्जा प्रवाह गरेको छ । यद्यपि यो कर्जा राष्ट्र बैंकको निर्देशन अनुसार कम भएपनि निजी क्षेत्रमा बैंकहरूमध्ये बढी कर्जा प्रवाह गर्ने पहिलो बैंक हो ।

निजी क्षेत्रका बैंकहरूमध्ये कुमारी बैंक र सिटिजन्स बैंकले ३० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका छन् । कुमारी बैंकले कृषि क्षेत्रमा ११.०४ प्रतिशत, ऊर्जा क्षेत्रमा ७.०७ प्रतिशत र लघु, साना तथा मझौला उद्यम व्यवसायमा ११.१५ प्रतिशत गरी कुल ३०.६३ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

सिटिजन्स बैंकले कृषिमा ११.२४ प्रतिशत, ऊर्जामा ७.७९ प्रतिशत र लघु, साना तथा मझौला उद्यम व्यवसायमा ११.१४ प्रतिशत कर्जा लगानी गरेका छन् ।

नबिल बैंकले उक्त क्षेत्रमा २५.२९ प्रतिशत कर्जा प्रवाह गरेको छ । सो कर्जामध्ये कृषि क्षेत्रमा १२.३२ प्रतिशत, जलविद्युतमा ६.८४ प्रतिशत र लघु, साना तथा सझौला उद्योग ६.१३ प्रतिशत कर्जा प्रवाह गरेको छ । स्ट्याण्र्डड चार्टड बैंकले २३.८२प्रतिशत, एभरेष्ट बैंकले २१.९९ प्रतिशत, एनआईसी एशिया बैंकले २८.७७ प्रतिशत, माछापुच्छ्रे बैंक २४.९५ प्रतिशत, कुमारी बैंकले २४.९५ प्रतिशतमात्रै लगानी गरेका छन् ।

लक्ष्मी सनराइज बैंकले २८.१३ प्रतिशत, सिद्धार्थ बैंकले २९.३२ प्रतिशत, ग्लोबल आईएमई बैंकले २६.३२ प्रतिशत, प्राइम कमर्शियल बैंकको २७.५२ प्रतिशत, एनएमबि बैंकले ३२.३८ प्रतिशत, प्रभु बैंकले २०.८९ प्रतिशत, सानिमा बैंकले २८.८७ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स