काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा कडाई गरेसँगै कर्जा प्रवाह घटेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको २०७८ भदौं महिनाको बैंक तथा वित्त संस्थाको मासिक तथ्यांकअनुसार सेयर धितो कर्ता ३.७ प्रतिशतले घटेको हो ।
२०७८ साउन महिनासम्म सेयर धितो कर्जा १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ प्रवाह भएको थियो । भदौमा ४ अर्ब १ करोड रुपैयाँले सेयर धितो कर्जा घटेर १ अर्ब ४ अर्ब ४९ करोड रुपैयाँमा कर्जा प्रवाह भएको तथ्यांकमा देखिन्छ ।
चाल आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जाबाट सिमित व्यक्ति तथा संस्थाले लाभ लिएको भन्दै कडाई गरेको थियो । मौद्रिक नीति जारी हुन भन्दा अघि लगानीकर्ताले सेयर धितोले थेक्नेसम्म कर्जा लिन पाउथे । सो व्यवस्थाका कारण ठूला लगानीकर्ताहरुले करिब २ अर्ब रुपैयाँसम्म सेयर धितो कर्जा लिएको पाइएको थियो ।
तर मौद्रिक नीतिले एउटा बैंक तथा वित्त संस्थाबाट ४ करोड रुपैयाँ र अधिकतम १२ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको हो ।
यस अवधिमा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ३.९६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । साउनसम्ममा वाणिज्य बैंकहरुले ९२ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा १ महिनामा करिब ४ अर्ब रुपैयाँले घटेर ८८ अर्ब ४३ करोड रुपैयाँमा आइपुगेको छ ।
यसैगरी विकास बैंकहरुको पनि सेयर धितो कर्जा १.०३ प्रतिशतले घटेको छ । साउनमा विकास बैंकहरुले १३ अर्ब २४ करोड रुपैयाँ कर्जा विस्तार गरेकोमा भदौ महिना आइपुग्दा उक्त रकम घटेर १३ अर्ब १० करोड रुपैयाँमा झरेको देखिन्छ ।
फाइनान्स कम्पनीहरुको सेयर धितो कर्जा ७.३४ प्रतिशतले घटेको छ । एक महिनामा यस्तो कर्जा ३ अर्ब १८ करोड रुपैयाँबाट घटेर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।