काठमाडौं । असोज महिनाको तुलनामा कार्तिक महिनामा बैंकहरूले कति ब्याज देलान यो वित्तीय बजारमा अहिले चर्चाको विषय बनेको छ । यसअघिनै निक्षेप तानातान गर्न थालेका बैंकहरूलाई राष्ट्र बैंकले थर्काएपछि केही संयमित भएका थिए । तर आजदेखि बैंकरहरूले निक्षेप सहज हुने तथा बढ्ने महिना पनि शुरु भएको छ र बैंकहरूले पनि कार्तिक महिनामा लागू हुने ब्याजदर प्रकाशित गर्न थालेका छन् ।
अहिलेसम्म ब्याजदर प्रकाशित गरेका बैंकहरूले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् भने केही बैंकले कार्तिक महिनामा निक्षेपमा पाउने ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।
कृषि विकास बैंकले बचत खातामा ०.५ प्रतिशत र मुद्दतीमा ०.४ प्रतिशत ब्याजदर बढाएर ब्याजदर प्रकाशित गरेको छ । कृषि विकास बैंकले बचत खाताको निक्षेपमा ४ देखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा निक्षेपको अवधिअनुसार ७ देखि ९ प्रतिशत ब्याजदर तय गरेको छ ।
कार्तिक महिनाको लागि सानिमा बैंकले मुद्दती निक्षेपमा न्यूनतम ६ देखि ८.५१ प्रतिशतसम्म ब्याज दिने ब्याजदर सार्वजनिक गरेको छ । कार्तिक महिनाको लागि भने सानिमाले मुद्दती निक्षेपमा करिब १ प्रतिशतले घटाएर ब्याजदर प्रकाशित गरेको हो । बचत खातामा भने ३.५१ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ ।
प्रभु बैंकले कार्तिक महिनाको लागि मुद्दती निक्षेपमा ७.७५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले असोज महिनाको ब्याजमा सामान्यमात्रै हेरफेर गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि कार्तिक महिनाको लागि ब्याजदर प्रकाशित गरेका छ । बैंकले असोज र कार्तिक महिनाको ब्याजदर तालिकामा खासै हेरफेर गरेका छैन । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतमा २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदिने भएको छ भने मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म ब्याजदिने भएको छ ।
सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि कार्तिक महिनाको लागि ब्याजदर प्रकाशित गरेका छन् । यी दुवै बैंक सरकारी स्वामित्वको भएपनि ब्याजदरमा भने अन्तर देखिएको छ । नेपाल बैंकले बचत खातामा ३.०५ प्रतिशतदेखि ४.५५ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा ८.०५ प्रतिशतदेखि ९.०५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
विकास बैंकको यस्तो छ ब्याजदर
हालसम्म दुई वटा विकास बैंकले कार्तिक महिनाको लागि ब्याजदर प्रकाशित गरेकोमा सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन् ।
एक्सेल कर्पोरेट प्रिमियम मुद्दती निक्षेप खातामा ११ प्रतिशत ब्याज दिने ब्याजदर घोषणा गरेको हो । एक्सेलको नियमित मुद्दती ब्याजदर ९.५ प्रतिशत मात्रै रहेको छ । एक्सेलले बचत खातामा ६ देखि ८ प्रतिशतसम्म ब्याज दिएको छ ।
एक्सेलले रेमिट्यान्स बचत खातामा भने ९ प्रतिशत ब्याजदर तोकेको छ । सिन्धु विकास बैंकले भने बचत खातामा ५.११ देखि ६.११ सम्म र मुद्दती निक्षेपमा ९.०१ देखि १०.११ सम्म ब्याज तोकेको छ ।
फाइनान्सले पनि बढाए ब्याजदर
असोज महिनामा फाइनान्स कम्पनीहरुले आपसी छलफलबाटै ब्याजदर नबढाउने अनौपचारिक निर्णय गरेका थिए । यद्यपि अधिकतम मुद्दती खातामा १०.७५ प्रतिशतसम्म ब्याजदर पुर्यााएका छन् । असोज महिनाको लागि अधिकतम मुद्दतीमा साढे ९ प्रतिशत ब्याज तय गरेका थिए ।
फाइनान्स कम्पनीहरुले बचत खातामा न्यूनतम ५.७५ देखि ६.५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन् भने मुद्दती खातामा ८.५ प्रतिशतदेखि १०.७५ प्रतिशतसम्म ब्याजदर दिने सूचना प्रकाशित गरेका छन् ।
गोर्खाज फाइनान्सले बचत खातामा ६ देखि साढे ६ प्रतिशत र मुद्दती निक्षेपमा न्यूनतम (फाइनान्सले बचत खातामा न्यूनतम ५.७५ देखि ६ प्रतिशतसम्म र मुद्दती निक्षेपमा १०.२५ देखि १०.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।