सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४अर्ब ८ करोड ९९लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशत बराबरको ५९करोड ३१ हजार ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि समेत) प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात् मात्र वितरण गरिनेछ ।

बैंकले गत आवमा ३ अर्व १६ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २६ करोड अर्थात् ९.११ प्रतिशतको वृद्धि हो । यसै गरी बैंकको वितरणयोग्य मुनाफा ६६ करोड रहेको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केहि संकुचन आएको देखिन्छ जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०७९÷०८० को खुद मुनाफाबाट १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो । यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् सेयरधनीहरुलाई नै वितरण गरिन्छ । यसर्थ उक्त विनियोजित रकम १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा २ अर्ब १२ करोड कायम हुन आउँछ । जुन प्रतिशतको हिसाबमा हेर्दा १५.०७ प्रतिशतको प्रतिफल हो । यसैगरी प्रतिकूल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई २.०१ प्रतिशतमा सीमित गर्न सफल भएको छ, जुन अघिल्लो त्रैमासको निस्कृय कर्जाको अनुपात ३.९५ प्रतिशतको तुलनामा ४९.११ प्रतिशतको सुधार हो ।

२०८० असार मसान्तमा बैंकको चुक्ता पुँजी १४ अर्व ८ करोड रहेको छ भने जगेडा कोष ११ अर्व २२ करोड रहेको छ । बैंकको नेटवर्थ २५ अर्व ३१ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा ३ अर्व ७१ करोडले वृद्धि भएको छ । बैंकले यस आर्थिक वर्षमा ५९ करोड नगद लाभांश वितरण गरे पश्चात् पनि बैंकको नेटवर्थमा अघिल्लो आव. भन्दा १४.४३ प्रतिशतले वृद्धि हुने देखिन्छ ।

देशमा विद्यमान तरलता अभावको अवस्थामा सिद्धार्थ बैंकले विश्व बैंक ग्रूप अन्तर्गतको आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण रकम प्राप्त गर्न सफल भएको थियो । उक्त रकम हालसम्म नेपालका कुनै पनि बैंक तथा वित्तिय संस्थाले प्राप्त गरेका छैनन् । अन्तराष्ट्रिय ख्याती प्राप्त वित्तिय संस्थाहरुबाट सिद्धार्थ बैंकलाई स्वीकृत ऋण रकमले बैंकभित्र विद्यमान सुशासन र बैंकको सवल वित्तिय अवस्थालाई पुष्टि गरेको बैंकको दावी छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स