काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले केन्द्रीय बैंकहरूको ब्याजदर लामो समयसम्म उच्च रहे विश्वभरका ५ प्रतिशत बैंकहरू तनावमा रहने रिपोर्ट सार्वजनिक गरेको छ । मंगलबार आईएमएफले विश्वव्यापी वित्तीय स्थायित्व प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय बैंकको ब्याजदर उच्च रहे विश्वव्यापी रुपमा करिब ५ प्रतिशत बैंकहरू तनावको जोखिममा रहेने जानकारी गराएको हो ।
यस्तै, विश्व अर्थतन्त्र न्यून वृद्धि र उच्च मुद्रास्फीति (स्ट्यागफ्लेसन) को अवस्थामा प्रवेश गर्यो भने विश्वका ठूला बैंकहरु सहित थप ३० प्रतिशत बैंकहरू कमजोर हुने रिपोर्टमा उल्लेख छ । प्रतिवेदनमा आईएमएफले विश्वभरका केन्द्रिय बैंकहरुलाई मुद्रास्फीति विरुद्धको लडाईमा दृढ रहन बैंकहरूलाई पनि आह्वान समेत गरेको छ ।
यसका लागि आईएमएफले विश्वभरका केन्द्रीय बैंक र नियामकहरूलाई बैंकहरूको दबाब परीक्षण (स्ट्रेस टेस्टिङ) मा कडाइ गर्ने सुझाव दिएको छ । आईएमएफले सार्वजनिक गर्दै बैंकिङ क्षेत्रका कमजोरीहरू न्यूनीकरण गर्न केन्द्रीय बैंकहरूले नियमनमा कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् ।
जोखिम मूल्यांकनलाई बलियो बनाउन, परीक्षण तथा पर्यवेक्षण बढाउन र संकट व्यवस्थापनका लागि फ्रेमवर्कहरु सुनिश्चित गर्न आईएमएफले केन्द्रिय बैंकलाई सुझाव दिएको छ ।
बैंकहरूले उच्च ब्याजदर राम्रोसँग व्यवस्थापन गरे पनि ऋणको माग घटेको र कोषको लागत बढेका छ,’ आईएमएफले रिपोर्टमा भनेको छ ‘यसले बैंकहरूमा तनाव सिर्जना भएको छ ।’
गत मार्चमा अमेरिकाको सिलिकन भ्यालीलगायत बैंक डुबेपछि बैंकिङ सेक्टरको स्वास्थ्यमा प्रश्न उठेको छ । आईएफएफले यस्ता ठूला बैंकहरू असफल भएमा विश्वभरको बैंकिङ प्रणालीलाई असर गर्ने बताएको छ । केही कमजोर बैंकहरुले प्रणालीगत जोखिम नित्याउने आईएफएफले ठम्याएको छ ।
सोहीकारण नियामकहरुले साना बैंकसहित सबै बैंकहरुका लागि दबाब परीक्षणहरु (स्ट्रेस टेस्टिङ) लाई थप कडा बनाउनपर्ने मंगलबार सार्वजनिक ‘ग्लोबल फाइनान्सियल स्टेबिलिटि रिपोर्ट’ मा उल्लेख गरेको छ । नियामकहरुले ब्याजदरको जोखिमका लागि कायम गर्नुपर्ने पुँजी (क्यापिटल एडेक्वेसी) को मापदण्डहरुमा पनि कडाइ गर्नुपर्ने आइएमएफले उल्लेख गरेको छ ।