काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत बढाएर प्राथमिक पुँजीकोष ९ प्रतिशत पुर्याएको छ । योसँगै प्राथमिक पुँजी कोष कम हुने बैंकहरू प्रेसरमा पर्ने देखिएको छ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्म कायम हुने गरि वाणिज्य बैंकहरूमा काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत बढाएको हो ।
‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार वाणिज्य बैंकहरूको प्राथमिक पुँजीकोष ८.५ हुनुपर्ने व्यवस्था छ । काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने भएपछि प्राथमिक पुँजीकोष ९ प्रतिशत कायम हुनुपर्ने भएको हो ।
बिहीबार राष्ट्र बैंकद्वारा जारी बैंक तथा वित्तीय संस्थाहरुको एकीकृत निर्देशन २०७९ को संशोधित व्यवस्था अनुसार वाणिज्य बैंकहरुको असार मसान्तसम्ममा ८.५ प्रतिशत रहेको प्राथमिक पुँजीकोष (टायर वान) ९ प्रतिशत कायम गर्नु पर्नेछ ।
साइक्लिकल बफर टायर वान क्यापिटल मै लाग्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थासँगै २ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष सीमाभन्दा तल देखिएको छ । ४ वटाको सीमा नजिक देखिएको छ । २०८० असार मसान्तसम्म कुमारी बैंकको प्राथमिक पुँजीकोष ८.८३ प्रतिशत छ भने प्रभु बैंकको ८.९१ प्रतिशत छ । यी दुवै बैंकले २०८१ असार मसान्तसम्ममा प्राथमिक पुँजीकोष ९ प्रतिशत कायम गर्नुपर्ने हुन्छ ।
हिमालयन बैंकको प्राथमिक पुँजीकोष ९.९६ प्रतिशत छ भने एनआईसी एसियाको ९.५२, माछापुच्छ्रे बैंकको ९.१ र सिद्धार्थ बैंकको ९.४४ प्रतिशत छ । प्राथमिक पुँजीकोष नपुगेका र सीमानजिक रहेका बैंकहरुले कर्जा प्रवाह गर्न सक्दैनन् । प्राथमिक पुँजीकोषको सीमा कायम नगरे राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्छ ।
‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्न नसक्ने वाणिज्य बैंकले लाभांश वितरण गर्न पाउँदैनन । राष्ट्र बैंकले तोकेको अनुपातमा जोखिम भारित सम्पत्तिअनुसार पुँजी कायम गर्न नसक्दा एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ तथा लक्ष्मी र माछापुच्छ्र्रे बैंकले २०७८÷०७९ को नाफाबाट लाभांश बाँड्न पाएका थिएनन् ।
नयाँ व्यवस्थाअनुसार कुमारी र प्रभु बैंकले न्यूनतम् सीमा कायम गर्न पुँजीकोष बढाउनुपर्नेछ भने कुनै ठूलो कर्जा नउठेर प्रोभिजनमा वृद्धि भए वा जोखिम भारित सम्पत्ति बढ्यो भने प्राथमिक पुँजीकोषलाई सीमाभित्र राख्न हिमालयन, माछापुच्छ्रे, एनआईसी एसिया र सिद्धार्थ बैंकलाई प्रेसर पर्ने देखिएको छ ।