सानिमा बैंकले दशैंअघिनै सेयरधनीहरुलाई लाभांश बाँड्ने, यस्ता छन् साधारण सभामा पेश हुने प्रस्ताव

काठमाडौं । सानिमा बैंक लिमिटेडले दशैंअघिनै सेयरधनीहरुलाई लाभांश बाँड्ने भएको छ । बैंकले सेयरधनीहरुलाई दशैं खर्च दिने उद्देश्यसहित साधारणसभा आह्वान गरेको छ। बैंकले आफ्नो १९ औं वार्षिक साधारण सभा कार्तिक २ गते काठमाडौंंको चण्डोल स्थित कुण्डलिनी ब्यान्क्वेटमा आह्वान गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेतगरी ५.७० प्रतिशत नगद लाभांश गरि कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

१. आर्थिक वर्ष २०७९/८० को संचालक समितिको १९ औ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आ।व। २०७९/८० को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने

३. यस बैंकको सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरीटज लिमिटेडको आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि.के.एफ.टि.आर. उपाध्या एण्ड कं. चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य रहेको)

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८० साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८० साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गरि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।

२. बैंकको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स