१ महिनामा १ अर्ब ४० करोड २१ लाखले घट्यो राष्ट्र बैंकमा सञ्चित सुन तथा एसडीआर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै राष्ट्र बैंकमा सुन तथा एसडीआर तथा आईएमएफ रिजर्भ पोजिशन घटेको छ । गत आर्थिक वर्षको अन्त्य असारसम्म ९४ अर्ब ३६ करोड ६७ लाख मूल्य बराबरको सुन, एसडीआर साउन १ महिनामा १ अर्ब ४० करोड २१ लाख रुपैयाँले घटेर ९२ अर्ब ९६ करोड ४६ लाखमा सीमित भएको हो ।

यो अवधिमा १.५ प्रतिशतले राष्ट्र बैंकमा रहेको कुल सम्पत्तिमध्ये सुन तथा एसडीआर घटेको हो ।
अघिल्लो आर्थिक वर्षको साउनसम्म राष्ट्र बैंकसँग यस्तो सम्पत्ति ९१ अर्ब १६ करोड ६९ लाख थियो । अघिल्लो आवको तुलनामा केहि बढेपनि गत आवको तुलनामा यस्तो सम्पत्ति घटेको हो ।

राष्ट्र बैंकसँग सुन तथा एसडीआर घटेपनि विदेशी विनिमय सञ्चिति भने २.९ प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म १३ खर्ब ४५ अर्ब ७७ लाख रुपैयाँ रहेकोमा साउन एक महिनामा २९ अर्ब ४६ करोड रुपैयाँले बढेर १३ खर्ब ८५ अर्ब २३ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

सो विदेशी विनिमय सञ्चितिमध्ये १० खर्ब ५१ अर्ब १ करोड ९३ लाख परिवर्तन (रुपान्तरण) गर्न सकिने विदेशी मुद्रा हो भने ३ खर्ब ३४ अर्ब २१ करोड ७२ लाख अपरिवर्तनीय मुद्रा भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

के हो एसडीआर ?
एसडीआर भनेको स्पेसल ड्रविङ राइट्सको छोटकरी रुप हो । अन्तराृष्ट्रिय व्यापार र वित्तको निम्तीआईएमएफले बनाएको एक प्रकारको मुद्राको कृत्रिम साधन हो । अन्तर्राष्ट्रिय एकाउन्टिङ प्रयोजनका लागि यसको प्रयोग गरिन्छ ।

एसडीआरको मूल्य मुख्य मुद्रा अमेरिकी डलर, युरो, जापानी येन, चिनियाँ युआन र पाउन्ड स्टर्लिङको मूल्यअनुसार निकालिन्छ । आईएमएफले ऋण लिने सदस्य राष्टसँग एसडीआरको ब्याजदरलाई आधार मानेर ब्याज असुल उपर गर्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स