काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूमध्ये धितोपत्र बोर्डको नियम परिपालना गर्नेमा वाणिज्य बैंकहरू देखिएका छन् । देशमा हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन् । सोमध्ये राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत भएको छैन ।
बोर्डले आर्थिक वर्ष २०७९/८० मा समयमै वित्तीय विवरण पेश गर्ने, ढिला गर्ने र नगर्ने लिष्ट सार्वजनिक गरेको हो । बोर्डले सार्वजनिक गरेको उक्त विवरण अनुसार हालसम्म २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको वित्तिय विवरण गरेका छैनन् भने १३९ वटा कम्पनीले समयमै वित्तीय विवरण बोर्डमा बुझाएका छन् । ढिलो गरी पेस गर्नेमा ६४ वटा छन्।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार सुचीकृत कम्पनीहरूले बोर्डलाई त्रैमास सकिएको ३० दिनभित्र र आर्थिक वर्ष सकिएको हकमा ५ महिनाभित्र वित्तीय विवरण बोर्डमा बुझाउनु पर्ने व्यवस्था छ । यतिमात्रै बोर्डले चाहेमा जुनसुकै समयमा पनि संगठित संस्थाको विवरण माग गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छ । यद्यपि नियमावलीमा वित्तीय विवरण बुझाउनु पर्ने बाध्यकारी व्यवस्था भएपनि दण्ड सजायको भने कुनै व्यवस्था गरिएको छैन ।
१२ वटा विकास बैंकमध्ये १२ वटाले समयमै वित्तीय विवरण बुझाएका छन् भने नारायणी विकास बैंकले सेबोनले दिएको समय सीमाभन्दा ढिला वित्तीय विवरण बुझाएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक तथा कर्णाली विकास बैंकले अहिलेसम्म बोर्डमा वित्तीय विवरण बुझाएको छैन ।
१३ वटा फाइनान्स कम्पनीले समयमै वित्तीय विवरण बुझाउँदा वेष्ट फाइनान्स र पोखरा फाइनान्सले बोर्डले दिएको समय सीमाभित्र वित्तीय विवरण बुझाएको बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
त्यसै गरी ६ वटा लाइफ इन्स्योरेन्स र ७ वटा नन् लाइफ इन्स्यारेन्सले समयमै वित्तीय विवरण बुझाउँदा २ वटा नन् लाइफ र ५ वटा लाइफ इन्स्योरेन्सले ढिला गरी वित्तीय विवरण बुझाएको सेबोनले उल्लेख गरेको छ । ३१ वटा माइक्रो फाइनान्सले सेबोनको नियमको परिपालना गर्दा १८ वटाले ढिला गरी वित्तीय विवरण बुझाएका छन् भने ६ वटाले अझै वित्तीय विवरण बुझाउन बाँकी छ ।
सरकारी स्वामित्वको नेपाल दूर सञ्चार कम्पनीले समयमै वित्तीय विवरण बुझाउँदा नेपाल रि–इन्स्यारेन्सले वित्तीय विवरण बुझाएको छैन भने नेप्सेमा सूचीकृत भएका दुई व्यापारी कम्पनीमध्ये साल्ट ट्रेडिङ कर्पोरेशनले समयमै वित्तीय विवरण बुझाएकोमा विशाल बजार कम्पनीले अहिलेसम्म वित्तीय विवरण बुझाएको छ्रन् ।