५ बैंकले लाभांश घोषणा गर्दा माछापुच्छ्रे बैंक पहिलो र एनआईसी एशिया बन्यो बढी लाभांश दिने बैंक

काठमाडौं । हालसम्म ५ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश घोषणा गरेका छन् । हिजो भदौ मसान्तसम्ममा ५ वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक,एनआईसी एसिया बैंक र सिटिजन्स बैंक रहेका छन् । माछापुच्छ्रे बैंक भदौ १३ मै लाभांश घोषणा गर्दै लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको थियो ।

यी ५ बैंकमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक माछापुच्छ्रे हो भने सबैभन्दा बढी लाभांश घोषण गर्ने बैंक एनआईसी एशिया बैंक हो ।

लाभांश घोषण गरेका बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश एनआईसी एशिया बैंकले दिने घोषणा गरेको छ । बैंकले कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत गरी कुल ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हालसम्म लाभांश घोषणा गरेका बैंक मध्ये एनआईसी कै लाभांश उच्च हो । अन्य बैंकको लाभांश क्षमता एनआईसीको भन्दा कम रहेकोलेयस पटक एनआईसी कै लाभांश उच्च नै कायम रहने सम्भावना छ । एनआईसी एसिया बैंकले भदौ २८ गते लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले यो प्रस्ताव भदौ २७ मा लाभांश घोषणा गरेको हो ।

माछापुच्छ्रे बैंक हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ भने बैंकले साधारणसभा समेत बोलाईसकेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ५.७ प्रतिशत नगद गरि कुल १४.७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सानिमा बैंकले भदौ २८ मा लाभांश प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंकले भदौ ३१ गते लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल सम्म लाभांश घोषणा गरेका मध्ये नगद लाभांश मात्र प्रस्ताव गर्नेमा सिटिजन्स पहिलो बैंक रहेको छ ।

सम्भवत यहि साता एनएनबि बैंकले पनि लाभांश घोषणा गर्ने बुझिएको छ अन्य बैंक पनि लाभांश वितरण गर्ने प्रक्रियामा रहेका छन् ।

यस्तो छ बाँकी बैंकको क्षमता

लाभांश बढी दिन सक्ने बैंकमा विदेशी लगानीको बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि देखिएको छ । बैंकले २८.९९ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ भने गत आवमा बैकको २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ विवरणको योग्य नाफा रहेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक पछि बढि लाभांश दिने क्षमता राख्ने बैंकमा सानिमा बैंक रहेको छ । सानिमा बैंकको लाभांश क्षमता १७७३ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रहेको छ भने विवरणयोग्य नाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ ।

त्यसरी नै कृषि विकास बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड १५ लाख रुपैयाँ रहेको छ । सो पुँजीलाई आधारमान्दा बैंकले हाल कमाएको विवरणयोग्य नाफा २ अर्ब ७१ लाखबाट १४.९२ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंकले भने यस वर्ष लाभांश कम दिने भएको छ । बैंकको खराब कर्जा बढ्दा यसको असर लाभांश क्षमतामा परेको हो ।

बैंकले गत आवको नाफाबाट ३ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएको छ । बैंकको खुदा नाफा ७ अर्ब ५२ करोड ७१ लाख भएपनि वितरण योग्य नाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँमात्रै रहेको छ । २७ अर्ब ५ करोड ६९ करोड रुपैयाँ चुक्ता प्ँजी भएको बैंकको लाभांश ठूलो पुँजी भएकै कारणले घटेको हो ।

त्यसै गरी नेपाल एसबिआई बैंकको लाभांश क्षमता १३.९३ प्रतिशत देखिएको छ भने राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत लाभांश क्षमता देखिएको छ ।

सनराइज र लक्ष्मी बैंक मर्जर पश्चात बनेको सनराइज लक्ष्मी बैंकले नाफा र अन्य सूचकांक राम्रा भएपनि लाभांश क्षमता भने कम देखिएको छ । २१ अर्ब ६७ करोड २ लाख चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ हुँदा लाभांश क्षमता भने ८.९४ प्रतिशत देखिएको छ ।

ग्लोबल आईएमई बैंकको पनि लाभांश क्षमता ८.२७ प्रतिशतमात्रै रहेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख पुग्दा लाभांश क्षमता कम देखिएको हो । बैंकको गत आवका वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । ७ अर्ब २५ करोड ३४ लाख खुद नाफा कमाएको बैंकले इम्पेरिमेन्ट चार्जमा २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ । सोही कारण बैंकको लाभांश क्षमता कम देखिएको हो ।

एनएमबि बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । एनएमबिको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने बैंकको विवतरण योग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैंक इन्टरनेशलको लाभांश क्षमता ७.३० प्रतिशत रहेको छ । बैंकको चुक्त पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

त्यसरी नै नेपाल बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत, सिद्धार्थ बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत, प्राइम कमर्शियल बैंक १.०६ प्रतिशत, प्रभु बैंकले ०.६९ प्रतिशत, नेपाल इन्भेष्टन्ट मेगा बैंक ०.४६ प्रतिशत रहेको छ ।

हिमालयन बैंक र कुमारी बैंकले भने वितरणयोग्य नाफा नकारात्मक देखिएको छ । दुबै बैंककले वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँभन्दा धेरैले ऋणात्मक देखिएको छ । यी दुबै बैंकले नाफा कमाएपनि अन्य नोक्सानी व्यहोर्दा लाभांश वितरण गर्न नसक्ने देखिएको हो ।

हिमालयन बैंक गत आवमा ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ भने कुमारी बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा रहेको छ ।

हिमालयन बैंकले गत आवको कमाइबाट २ अर्ब १५ करोड ६१ लाख इम्पेरिमेन्ट चार्ज रहेको छ भने कुमारी बैंकले गत आवमा ५ अर्ब ७३ करोड ५८ लाख चार्ज छुट्याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स