काठमाडौं । नबिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्। नबिल बैंकले भने असोजदेखि लागू हुनेगरि ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार १ वर्ष र त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५६ प्रतिशत विन्दुले बढेर १०.४९ बाट ११.०५ प्रतिशत पुगेको छ । बैंकले साधारण बचततर्फ ६.०५ प्रतिशतदेखि ९.०५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
तीन महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले १०.०५ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा १०.५५ प्रतिशत ब्याज दिइने छ । असारसम्म सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९.९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।
संस्थागत मुद्दति निक्षेपमा ६ महिनादेखि १ वर्षसम्मको भए ८.५५ प्रतिशत र १ वर्षभन्दा माथिको भए ९.०५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा पनि फरक/फरक ब्याजदर कायम गरेको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको रेमिट्यान्स मुद्दती निक्षेपमा ११.०५, ३ महिनादेखि ६ महिनासम्मकोमा ११.५५ र १ वर्षमाथिकोमा १२.०५ प्रतिशत पुर्याएको छ ।