काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरू निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा आक्रामक देखिएका छन् । असोज महिनाको २२ दिनमा वाणिज्य बैंकहरूले १ सय ११ अर्ब कर्जा प्रवाह गरेका छन् भने ८४ अर्ब निक्षेप संकलन गरेका छन् ।
भदौ महिना बैंकहरूले १ सय ८ अर्ब कर्जा प्रवाह गरेका थिए । साउनमा ४३ अर्ब कर्जा प्रवाह भएको थियो । त्यतिबेला निक्षेप संकलन थोरै थियो भने कर्जा प्रवाह भने अत्यधिक बढी थियो । कोभिडपछि बैंकहरूले आफ्नो व्यवसायलाई तिव्रता दिएका कारण कर्जा प्रवाह बढी भएको हो ।
तर, असोजमा आइपुग्दा निक्षेप संकलनमा बैंकहरूले फड्को मारेका छन् । असोज महिनामात्रै वाणिज्य बैंकहरूले ८४ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत भदौमा बैंकहरूमा ४८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो भने साउनमा निक्षेप संकलन ७८ अर्बले निक्षेप संकलन घटेको थियो ।
पछिल्लो समय सरकारी खर्च बढ्नुका साथै रेमिट्यान्स पनि भित्रिएकोले बैंकहरूमा निक्षेप संकलन बढेको हो ।
चालु आर्थिक वर्षको यो असोज २२ गतेसम्म ५४ अर्ब ३४ करोडले निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह २ खर्ब ६२ अर्बले बढेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।