नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन तथा विकास आयोजना निमार्ण गर्नका लागि विकास ऋणपत्र निष्काशन गर्ने गर्छ । विकास ऋणपत्र दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन दुई वा सो भन्दा बढी वर्षका लागि प्रयोग गरिने सरकारी औजार हो ।
हाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।
यसका अतिरिक्त ट्रेजरी विल, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र र अन्य उपकरणहरुको प्रयोग गरि सरकारले ऋण उठाउने गर्छ ।
केन्द्रीय बैंकले यसरी निष्काशन हुने ऋणपत्र कारोबारका लागि नेप्सेमा सूचीकृत हुन्छ भने ऋणपत्रको अवधि समाप्त भएपश्चात ऋणपत्रको सावाँ भुक्तानी फिर्ता गर्ने गरिन्छ ।
ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएपछि त्यसको किनबेच र बैंकमा धितो राखेर ऋण समेत लिन सकिन्छ ।
बैंक तथा वित्तीय संस्थाले विकास ऋणपत्रको प्रमाणपत्र भुक्तानी मिति अगावै रिपो, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा, अन्तरबैंक कारोबारमा प्रयोग गर्ने सुबिधा लिन सक्छन्। अन्य व्यक्ति तथा संस्थाले राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन सक्दछ ।
लगानी रकमको जोखिम नहुने, छ छ महिनामा ब्याज पाइने, र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुनाले ऋणपत्रका फाइदा पनि हुन्छ ।
देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउन ऋणपत्र बिक्री गरेर सरकारले आफूलाई चाहिएको पैसाको जुटाउँछ ।