काठमाडौं । चाडपर्वको मुखैमा डलरको भाउ नयाँ उचाइमा पुगेको छ । यसले यो वर्ष नेपालीहरूको दसैं महँगो पर्ने भएको छ । भारतीय मुद्रा कमजोर हुँदा आज अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ ताकेको छ । यसअघि भदौ १ गते एक अमेरिकी डलरको मूल्य १३३.३४ रुपैयाँ पुगेको थियो । भदौ १ को तुलनामा आज अमेरिकी डलरको मूल्य १० पैसाले बढेको हो ।
आज एक अमेरिकी डलरको खरिद दर भने १३२.८४ रुपैयाँ तय भएको छ । आज राष्ट्र बैंकले तोकको मूल्य अनुसार अमेरिकी डलरको खरिद र बिक्री दरमा ६० पैसाको अन्तरदेखिएको छ । सामान्यतय यसअघि अमेरिकी डलरको खरिद र बिक्री मूल्यबीचको अन्तर १० पैसाको हुने गरेको थियो ।
आज एक डलर बराबर ८३.१३ भारतीय रुपैयाँ तय भएको छ । नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ । यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ ।
भारतमा पछिल्लो समय आयात फराकिलो हुँदै गएको छ । आयात बढ्दा विदेशी मुद्रा संचितिमामा संकुचन आउँछ । यसले मूल्य वृद्धि बढाउँछ । मूल्यवृद्धि दर बढ्ने प्रक्षेपण रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले गरेको छ ।
डलरको मूल्य बढ्दा हुने फाइदा
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारमा आय हुने पैसा बढ्छ । वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुनेछ ।
यद्यपि डलरको भाउ बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ ।
नेपालमा निर्यातको भन्दा आयातको हिस्सा निकै ठूलो र वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ उठाउन भने गाह्रो छ । आयातमा आधारित अर्थतन्त्र भएको मुलुकमा डलरको मूल्य बढ्दा नेपालले फाइदा भन्दा बढी नोक्सान बेहोर्नु पर्ने हुन्छ । आयातमा ठूलो हिस्सा रहेको पेट्रोलियम पदार्थको आयात बढ्दा डलरको मूल्यका कारण नेपालमा त्यसको मूल्य थप महँगिने छ ।
नेपालीको महान चाड दशैं नजिकिरहेको छ । दशैं तिहारका बेला अन्य समयमाभन्दा व्यापार व्यवसाय शत प्रतिशत बढ्ने गरेको छ । लताकपडालगायतका वस्तुको दशैं मै भएको व्यापारले वर्षदिन धान्ने हो ।
भारत तथा तेस्रो मुलुकबाट आउने सवारी साधन, यसका पार्टपूर्जा, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत कृषि उपजको समेत मूल्य बढ्ने छ । नेपाल अहिले पनि वार्षिक करिब ५ खर्बको हाराहारीमा कृषि तथा कृषि उपचसँग जोडिएका उत्पादनहरू आउने गरेका छन् । यी सबै सामानको मूल्य बढ्छ ।
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ ।