काठमाडौं । भदौलागेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने र कर्जा लिने दुबै बढेका छन्। लामो समयदेखि सुस्ताएको कर्जा प्रवाह पनि यो अवधिमा केहि सुधार भएको देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । भदौ लागेपछि बैंकमा निक्षेप राख्ने र कर्जा प्रवाह दुबै बढेको राष्ट्र बैंकका सह प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए ।
भदौको १० दिनमा बैंकिङ क्षेत्रमा १३ अर्ब ६२ करोड निक्षेप संकलन भएको छ भने १२ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ । भदौ १० दिनमा भएको निक्षेप संकलन र कर्जाबीचको अन्तर जम्मा ६८ करोड रुपैयाँमात्रै रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले भदौ १ गतेसम्म ५६ खर्ब ९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा भदौ १० गते ५६ खर्ब २२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन पुगेको छ ।
भदौ १ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौ १० गते सो कर्जा बढेर ४८ खर्ब ७२ अर्ब २९ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाले भदौ १ गतेदेखि १० गतेसम्म गरेको निक्षेपमा ११ अर्ब ४६ करोड वाणिज्य बैंकहरूले गरेको निक्षेप संकलन हो भने विकास बैंकले १ अर्ब ५० करोड निक्षेप संकलन गरेका छन् । फाइनान्स कम्पनीले भने यो अवधिमा ६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
त्यसैगरी भदौ १ गतेदेखि १० गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट १२ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने विकास बैंकहरूले ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरूको भने यो अवधिमा १० करोड रुपैयाँले घटेको छ ।
भदौ १० गतेसम्म बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८३.७ प्रतिशत रहेको छ भने अन्तर बैंक रेट ६.०९ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।