काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको मर्जरलाई जोड दिएर एकीकृत निर्देशन २०७९ लाई संशोधन गरेको छ । राष्ट्र बैंकले २०८१ असारमसान्तसम्म मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा समेत छुट दिने गरी एकीकृत निर्देशन २०८० जारी गरेको हो ।
मर्जरमा गएर एकीकृत कारोबार गरेका लघुवित्तले राष्ट्र बैंकले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउन पर्ने १० प्रतिशत रकम १ वर्षसम्म छुट्याउनु नपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म एकीकृत कारोबार गर्ने लघुवित्तलाई छुट दिने भएको छ । यस्ता सुविधा राष्ट्र बैंकले २०८० असार मसान्तसम्मको लागिमात्रै भनेर नीतिगत व्यवस्था गरेको थियो ।
बिहीबार ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७९ लाई संशोधन गर्दै मर्जरमा गएका कम्पनीलाई सुविधा पाउने समय थप गरेको हो ।
संशोधित व्यवस्थाअनुसार एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्नेछ ।
जसलाई एक वर्ष थप गरिएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त संस्थाहरुले मर्जर सम्झौता गरी २०८१ असार मसान्तसम्म एकीकृत कारोबार गरेमा सेवा सुविधा दिने जनाएको थियो । सोही व्यवस्था लागू गर्न एकीकृत निर्देशन संशोधन गरेको हो ।