‘पहिला नमस्कार अनि सेवा सिटिजन्स बैंकको ‘कोडअफ कन्डक्ट’ नै हो’

सिटिजन्स बैंक इन्टरनेसनलका नायव प्रमुख कार्यकारी अधिकृत राजेन्द्रलाल श्रेष्ठ जीवनको दुई दशकभन्दा लामो समय बैकिङ क्षेत्रमा सम्लग्न रहेर यस क्षेत्रमा स्थापित बनिसकेका छन् । बैकिङ क्षेत्रमा पनि विशेष गरेर जोखिम व्यवस्थापनमा उनको विशेष दख्खल र लामो अनुभव छ ।

व्यवस्थापन प्रशिक्षार्थीको रुपमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले एसआईबिएम पुनाबाट एमबीए अध्ययन गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनलको स्थापनाकाल देखि नै सक्रिय उनी हाल जोखिम व्यवस्थापन विभागको प्रमुख हुन् । उनै श्रेष्ठसँग बैंकिङ क्षेत्रमा रहेको समस्या, चुनौती तथा बढ्दो तरलता अभावमा सिटिजन्स बैंकले गर्ने व्यवस्थापनका सम्बन्धमा हाम्रोअर्थले गरेको कुराकानीको सारः

तरलता अभावको असर
पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता अभावका कारण ब्याज बढ्न थालेको देखिन्छ नि ?

ब्याज बढ्दा निक्षेपकर्तालाई फाइदा हुन्छ । उहाँहरूले राम्रो ब्याज पाउनु हुन्छ । कर्जा लिनेले अलि बढी ब्याज तिर्नुपर्छ । ब्याज बढ्ने वा घट्ने भनेको डिमान्ड र सप्लाइमा भर पर्ने कुरा हो । अहिले विस्तारै बजारमा तरलता अभावको कुरा आइरहेको छ । यसले गर्दा थोरै ब्याज बढ्न सक्ला । यति भन्दै गर्दा म के भन्न चाहन्छु भने ब्याज बढे पनि हाम्रा पुराना ऋणी ग्राहकलाई खासै ठूलो फरक पर्दैन ।

ग्राहक बाँचेपछि नै बैंक बाँच्ने हो । हाम्रा ऋणीहरू नै बाँच्नु भएन भने हामी बाँच्ने कसरी ? हामी निक्षेपकर्ता र ऋणी दुबैपक्षको हित चाहन्छौं । हाम्रो मूलमन्त्र नै ग्राहकहरूको प्रगति र उन्नति होस् भन्ने हो । हामी उहाँहरूको सहयात्री हौं । ग्राहकको प्रगति नभए बैंकको प्रगति कसरी सम्भव हुन्छ र ?

तरलता अभावको असर सिटिजन्स बैंकमा पर्दैन भन्ने तपाईको भनाइ हो ?

हालको अवस्थामा सिटिजन्स बैंकसँग लगानी योग्य पुँजीको अभाव छैन । ‘क्रेडिट क्रन्च’ हुन नदिनका लागि बैंकले विभिन्न वित्तीय उपकरणहरूको प्रयोग गरेर राम्रो व्यवस्थापन मिलाएको छ । यसका लागि विभिन्न संयन्त्र तथा उपकरण परिचालन गरेको छ ।

वित्तीय बजारमा तरलता अभाव नहोस् भन्नका लागि राष्ट्र बैंकले रिपोहरू जारी गरेको छ । पुँजीगत खर्च हुन नसक्दा बजारमा तरलताको अभाव भएको हो । सरकारी खर्चमा पनि विस्तारै बढोत्तरी हुन थालेको छ । त्यसैले केहि समयमा नै तरलता सहज हुनेमा म आशावादी छु । अहिले नै सिटिजन्स बैंकमा तरलता अभाव हुने अवस्था आएको छैन । आन्तरिक रुपमा हाम्रो पूर्ण तयारी छ ।

प्रविधिको प्रयोग
बैंकिङ पूर्वाधारको विषयमा अझै पनि हाम्रा बैंकहरू कमजोर छन् । पूर्वाधारलाई मजबुत बनाउन के के गर्नुपर्छ ?

त्यसो त भन्न मिल्दैन । बैंकहरूले पूर्वाधार निर्माणको क्षेत्रमा केही न केही काम गरिनै रहेका छन् । भलै त्यो प्रर्याप्त र हामीले चाहेको जस्तो नहोला । पछिल्लो समय बैंकहरूले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको मैले महसुस गरेको छु ।

डिजिटलाइजेसनमा मुख्य रूपमा दुईटा पाटा हुन्छ । एउटा भनेको आन्तरिक र अर्को बाह्य । हामीले आन्तरिक पक्षलाई सवल बनाउने काम थालेका छौं । यसका लागि सवल, छरितो, चुस्त र द्रुस्त प्रणालीको विकासका लागि विभिन्न कामहरू सुरु भएका छन् । केहिको थालनी भइ सकेको छ । केहि कार्यान्वनको अवस्थामा रहेको छ । सिटिजन्स बैंकले पनि आफ्नो दैनिक कार्यसम्पादनलाई सहज बनाउन विभिन्न प्रविधिमैत्री सिस्टमहरूको प्रयोग गर्दै आइरहेको छ ।

ग्राहकलाई स्तरीय सेवा दिने विषयमा पनि केहि काम भएका छन्, हैन र ?

हो, अब म त्यहि विषयमा कुरा गर्दैैछु । डिजिटलाइजेसनको अर्को पाटो भनेको बाह्य पक्ष हो । ग्राहक महानुभावहरूलाई बैंकमा नआइकन बैंकिङ सेवा सुविधा प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो । भर्खरै मात्र हामीले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेका छौँ । बैंकिङ सेवाहरू मोबाइल फोन वा वेव ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरिएको हो ।

हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवम् नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्नु अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुविधा थप गरेको छ । यसका साथै ग्राहकहरूले मुद्दती खाता खोल्ने, रेमिट्यान्स पठाउने, खाताको विवरण हेर्नेलगायतका काम पनि गर्न सकिने छ । उक्त एपबाट रकमान्तर गर्नेदेखि अनलाइन तथा क्यूआर कोड मार्फत भुक्तानी गर्ने उपयोगी सेवा प्राप्त गर्न सकिने छ ।

नेपालका बैंकहरूले पनि विकसित देशहरूले जस्तो प्रविधिमा आधारीत सेवा दिन थालेका हुन् ?

नेपाल विकासोन्मुख राष्ट्र हो । विकसित मुलुकको जस्तो प्रविधि दिन अलि गाह्रै छ । प्रविधि खर्चिलो हुन्छ । प्रविधि मात्र ल्याएर भएन । फेरि त्यो कतिको सुरक्षित र भरपर्दो छ त्यस्ता कुराहरूको समेत विश्लेषण गरेर नै प्रविधिको प्रयोग गर्ने गरिन्छ । साथै, त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्तिको पनि आवश्यक पर्छ ।

त्यो पूर्वाधारका लागि सिटिजन्स बैंकले गरेको काम भनेको हाम्रो सीबीएस हेर्ने हो । फिनाकल भन्ने सफ्वेयर ल्यायौं । हामीले प्रविधिको प्रयोगवाट उच्चस्तरीय सेवा दिने विषयमा शुरु देखिनै काम गर्दै आएका छौं । यो विषयमा अहिले पनि हाम्रो ध्यान उत्तिकै छ ।

अहिले भएकै पूर्वाधारको समेत उचित प्रयोग भएको छैन भन्ने छ नि, किन ?

अहिले नेपाल राष्ट्र बैंक क्यूआर कार्डलाई प्रमोट गर्न आक्रामक रुपमा लागेको छ । क्यूआरका लागि ठूलो पूर्वाधार पनि चाहिँदैन । उपलब्ध पूर्वाधारबाट कसरी अधिकतम लाभ लिने भन्ने विषयमा हाम्रो पनि ध्यान गएको छ ।
हामीले हाम्रो इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलाई अपग्रेड गर्यौ । सर्भरलाई चुस्त र बलियो बनायौं । ग्राहकमूखी र प्रविधिमैत्री पूर्वाधार बनाउन नयाँ सफ्टवेयर लिने विषय प्रक्रियामा छ ।

यो पटकको मौद्रिक नीतिले ऋणको आवेदन पनि वेवसाइटबाट गर्ने भनेको छ । पूर्वाधार र प्रविधि भन्ने कुरा एकै पटक बन्ने वा ल्याएर जडान गरिहाल्ने होइन । सिटिजन्सले त्यो भन्नु भन्दा अघि नै सम्पूर्ण ऋण, एकाउन्ट खोल्ने आवेदन वेवसाइटबाट नै गर्ने व्यवस्था मिलाइसकेका छ । सेवा पनि शुरु भै सकेको छ । हामी पूर्वाधार विकासमा लागिरहेका छौं ।

यी सबै प्रविधि चलाउन ग्राहकलाई पनि अवस्त बनाउन पर्ला नि ?

यी सबै प्रविधिमा आम ग्राहकलाई अभ्यस्त बनाउन पनि त्यति कै जरुरी छ भनेर हामीले यसको पाटोमा पनि काम शुरु गरिसकेका छौं । यसका लागि प्रविधिमैत्री जनचेतनामूलक काम गर्नुपर्छ भनेर सिटिजन्स बैंक अघि बढिरहेको छ । बैंकले ३÷४ वटा जनचेतनामूलुक तथा वित्तीय साक्षरतालाई प्रवद्र्धन गर्ने भिडियोहरू बनाएर विभिन्न सामाजिक सञ्जालबाट प्रसारण पनि गर्दै आएको छ ।

प्रविधिमैत्री ग्राहक नभएका कारण आउने समस्या कसरी हल गर्नुहुन्छ ?

हामी यस्तो पूर्वाधार बनाउन खोजिरहेका छौं । कुनै पनि ग्राहक कुनै पनि प्रकारको बैंकिङ सेवा लिनका लागि बैंक धाउन नपरोस् । त्यो पूर्वाधार विकास गर्न हामी लागिपरेका छौं । कतिपय पाटोमा काम भइसकेको छ । कतिपय पाटोमा काम हुने क्रममा छ । कतिपय पाटोमा भने सम्भावना पनि हेर्नुपर्ने हुन्छ ।

प्रविधिमैत्री भन्दै गर्दा ग्राहकको गुनासो पनि आउन सक्छ । त्यसका लागि ‘कल सेन्टर’ को स्थापना गर्ने काम अन्तिम चरणमा पुगेका छ । ग्राहकहरूले कल सेन्टरबाट सम्पूर्ण वित्तीय सेवा लिन सक्नु हुनेछ । तपाईको राती ८ बजे कार्ड हरायो । त्यो कार्ड अरु कसैले दुरुपयोग गर्न सक्ला । कार्यालय समयभन्दा पछि भयो भनेर अब चिन्ता गर्नु पर्दैन । हराएको कार्ड तुरुन्तै बल्क गराउन सकिन्छ ।

बैंकबाट ग्राहकले पाउनुपर्ने सूचना तथा सेवा कलसेन्टरबाट नै पाउन सकिने गरी कार्य अघिबढेको छ । कसैको चेक सकिएला । चेक बनाउनका लागि बैंक जानु पर्दैन । कलेक्सन गर्नमात्र बैंक आए पुग्छ । यस्ता कामका लागि पनि कलसेन्टर उपयोगी हुन्छ । यी सबै कामका लागि अनलाईनबाटै आवेदन दिन सकिने प्रबन्ध मिलाइरहेका छौं । हामी होलस्टिक एप्रोचमा आईटीको उच्चतम तरिकाले अधिकतम प्रयोग गर्दै पूर्वाधार विकासमा लागेका छौं ।

उसोभए अब ऋणी लिन पनि बैंकमा आउनु नपर्ने भएको हो त ?

यस बैंकले ‘ पे डे लोन’ नामक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । यो कर्जा लिनका लागि ग्राहक बैंक आउनु पर्दैन । उहाँहरूले आफ्नै मोबाइलबाट कर्जाको निम्ति आवेदन दिन सक्नु हुन्छ । आवेदन दिएको केहि बेरमा नै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । अहिलेकै अवस्थामा हेर्ने हो भने पनि सिटिजन्स बैंकले कुनै पनि कर्जाको आवेदन दिन बैंकको वेवसाइटमा गएर सहजै दिन सकिन्छ ।

त्यति भन्दै गर्दा अरु डकुमेन्टेसनका पार्ट हुन्छन् । धितोको लागि साइट भिजिट गर्नुपर्छ । सेक्यूिरटी भ्यालूएसनको कुरा हुन्छन् । ऋणी नै उपस्थित भएर कतिपय कागजातमा सही गर्नुपर्ने हुन्छ । अनलाइनबाटै सेवा दिन सकिने सम्पूर्ण व्यवस्था मिलाए पनि यसलाई अझ परिस्कृत गर्न बैंक लागि परेको छ ।

नेपालको बैकिङ सुरक्षा

नेपालको बैंकिङ सिस्टम साइवर आक्रमणको ठूलो जोखिममा छ । केही समय अघि ह्याक पनि भएको थियो । यस्तो जोखिमबाट बच्न सिटिजन्स बैंकले कस्तो सावधानी अपनाएको छ ?

साइवर आक्रमण न्यूनीकरण गर्न धेरै निकायको समन्वय र प्रयास आवश्यक हुन्छ । हाम्रो बंैकले यस क्षेत्रमा विगत केहि वर्षमा उल्लेख्य सुधारका कामहरू गरेको छ । हामीले हाम्रो बैकिङ प्रणाली परिवर्तन गरी अन्तर्राट्रियस्तरको सिस्टम प्रयोग गरेका छौ । साइवर आक्रमण न्यूनीकरण गर्न ‘सीम तथा शक’ जस्ता नयाँ प्रविधिको प्रयोग पनि सुरु गरेका छौ ।

साथै आईटी र त्यसमा रहेको जोखिमको अडिट वाह्य तथा आन्तरिक निकायबाट हामीले निरन्तर गरिनै रहेका छौं । हाम्रो बैंकमा रिक्स व्यवस्थापन तथा आईटी हुन सक्ने रिक्स हेर्ने छुट्टै एक सक्षम निकाय छ । जसले आईटीमा हुन सक्ने जोखिमलाई नियालेर त्यसको रिक्स पहिचान गरी न्यूनीकरण गर्ने गर्दछ ।

आन्तरिक जोखिम र वाह्य जोखिमको पहिचान गर्ने र क्षमता वृद्धि गर्नमा हामी निरन्तर लागिरहेका छौ । हाम्रा ग्राहहरूलाई प्रविधिको दुरुपयोग गरी ठगिनबाट जोगाउन र यस्ता गतिविधि रोक्न साथै जनचेतना फैलाउन हामीले विभिन्न सञ्चार माध्यमहरूका साथै सामाजिक सञ्जालको पनि प्रयोग गदै आएका छौं ।

हामीले जानकारीमूलुक सूचनाको सम्प्रेषण व्यापक रुपमा गर्दै आएका छौ । कतिपय कुरा हामीले मात्र गर्न सक्ने अवस्था नहुन सक्दछ । यसका लागि पुलिस, प्रशासनमा पनि जानु पर्ने हुन्छ । आवश्यकता अनुुसार कानुनी प्रक्रिया पनि अवलम्बन गर्नुपर्ने हुन्छ । त्यो पनि हामीले संवेदनशील भएर गर्दै आएका छौ । अतः समग्र साइवर अपराधलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर बैंक निरन्तर लागिरहेको छ ।

पछिल्लो समय बैंकहरूको शाखा अडिट पनि चार्टर्ड एकाउन्टेनबाट गर्नुपर्छ भन्ने चर्चा चलेको थियो । बैंकहरूले यस्तो गर्दा खर्च बढी लाग्छ भनेर आवाज पनि उठाएका थिए । मौद्रिक नीतिले त यस विषयको सम्बोधन गरेन नि ?

यदि राष्ट्र बैंकले कुनै नीति तर्जुमा गर्छ भने त्यसमा विभिन्न स्टेक होल्डर, सरोकारवालसँग छलफल गरेको हुन्छ भन्ने ठम्पाइ हो । राष्ट्र बैंक हाम्रो अभिभावक हो । अभिभावकले आफ्नो बालबालिकालाई राम्रो होस् भन्ने चिताउने हो । राष्ट्र बैंकले जारी गर्ने नीतिमा सिटिजन्स बैंकले कहिले पनि विरोध गर्दैन, शिरोधार गर्छ । वाणिज्य बैकहरूले सबै अडिट चार्टर्ड एकाउन्टेनबाटनै गराएका हुन्छन् ।

एक्सटर्नल अडिट चार्टर्ड एकाउन्टेनबाटै हुनेगरेको छ । उसको एक्र्पटाइजलाई हाम्रो सिष्टममा प्रयोग गरी कतै फल्ट रहेछ भने त्यो पत्ता लगाउन सकिन्छ । भोलि हुन सक्ने जोखिमको पूर्वानुमान लगाएर यसलाई नियन्त्रण गर्न पनि सकिन्छ । त्यो रोगको निदान आजै गर्न सक्यौं भने त भोलि यसले अझै सकारात्मक प्रभाव ल्याउँछ भन्ने नै हो । यो भनेको हाम्रो संस्था ठिक छ, सबै सिष्टममा चलेको छ भन्ने नै हो ।

आर्थिक वृद्धिदरको लक्ष्य
सरकारले प्रतिस्थापन विधेयक मार्फत् आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत राखेको छ । यो लक्ष्य हासिल गर्न सिटिजन्स बैंकको भूमिका कस्तो रहन्छ ?

सरकारले दिएको सम्पूर्ण नीति हामीले अवलम्बन गर्ने हो । अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाह हुनुपर्छ । कर्जा प्रवाहलाई सहज, सरल बनाउँदै जतिसक्दो कम ब्याजदरमा प्रवाह गर्ने हो । अर्को पाटो भनेको बैंकबाट लिएको कर्जा सहि ठाउँमा उपयोग गर्ने ग्राहकलाई कर्जा प्रवाह गर्ने हो ।

कर्जाको सही प्रयोग हुने वातावरणको सिर्जना गर्ने हो । कर्जा दिएर मात्र हुँदैन । सही सदुपयोग भयो भनेमात्र त्यसबाट प्रतिफल पाउन सकिन्छ । रोजगारी सिर्जना गर्ने सकिन्छ । उत्पादकत्व वृद्धि हुन्छ । यो सबै भयो भने मात्र आर्थिक वृद्धिदर हासिल हुने हो । यसका लागि राष्ट्र बैंकले लिएको सबै नीतिलाई पालना गर्दै अर्थतन्त्रलाई चलायमान राख्न बैकले सक्दो सबै खालको काम गर्दै आएको छ र अगाडि पनि गर्छ । अझै पनि गाउँ घरमा उच्च ब्याजदरमा तमसुकको भरमा पैसाको कारोबार भइरहेको छ । त्यस्ता कामलाई निरुसाहित गर्दै सबै नेपालीलाई खाता खोल्न बैंकहरूले आफ्नो छुट्टै खालको नीति बनाएर अघि बढेका छन् ।

सिटिजन्सको अवस्था
बैंकिङ बजारमा सिटिजन्स बैंकको स्थान कहाँ छ ?

सिटिजन्स बैंकको अवस्था प्रगतिउन्मुख रहेको छ । आजसम्म हामिले सर्वसाधारणसँग एक खर्ब ४५ अर्ब रुपैया निक्षेप उठाएका छौं । एक खर्ब ३० अर्ब ऋण लगानी भएको छ । बैंकका देशभर एक सय ८३ शाखा छन । एक सय २१ वटा एटिएम र एक सय ११ वटा शाखा रहित बैंकिङ इकाईहरू छन् ।

प्रदेश नं १ मा २७, प्रदेश नं २ मा २७, बागमती प्रदेश मा ४३, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ५८, कर्णली प्रदेशमा ९ र सुदूर पश्चिम प्रदेश नं ७ मा ७ वटा शाखा गरी कुल एक सय ८३ वटा शाखाहरू मार्फत १२ लाख भन्दा बढी ग्राहकवर्गहरूलाई उच्चस्तरीय आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छौँ ।

हामी ‘टप टेन’ बैंकभित्र पर्नै लक्ष्यका साथ अगाडी बढिरहेका छौँ । यति भन्दै गर्दा हाम्रो उपस्थिति गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा तुलनात्मक रूपमा कमजोर रहेको छ । यसलाई सवल बनाउने रणनीतिका साथ अगाडि बढेका छौं । निकट भविष्यमा नै हामी यो क्षेत्रमा पनि सवल भएर प्रस्तुत हुनेछौ । यस क्षेत्रका ग्राहकलाइ हाम्रो बैंकको वित्तीय सेवाको सञ्जालमा ल्याउन हामी प्रतिबद्ध छौ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनी महानुभावहरूलाई आर्थिक वर्ष २०७७÷७८ मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको छ । यो लाभांश आफैमा राम्रो हो । समग्र रूपमा व्यापार व्यवसायमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस बैंकले संस्थागत सुशासन, अनुपलाना तथा जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको कुरा सर्वविदितै छ ।

 

प्रतिक्रिया

1 COMMENT

  1. त्यो एकदम राम्रो सस्कार हो तर एउटा सुझाव राख्न चाहान्छु ।सिटिजन बैंकको पहिले एउटा प्रतिबद्धता जस्तो बोर्ड थियो तपाईंले पाँच मिनेट भन्दा बढी लाइन मा बस्नुपर्ने छैन वा पर्दैन तर अहिले कुनै कुनै ब्रान्च यस्तो बिजि छन कि घन्टौंसम्म लाइनमा बस्नु पर्छ ,तसर्थ त्यस्तो ब्यस्त हुने साखा कार्यलयमा टेलर थपेर ग्राहक लाइन घन्टौंसम्म लाइन बस्नु पर्ने अवस्था लाइ कम गर्नुहुन सल्लाह दिन चाहान्छु!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स