काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१.१९ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको प्रतिसेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेको छ भने कर्जा लगानी ४.३२ प्रतिशत बढेको छ ।