काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी बढेको पनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ । निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४० करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ रुपैयाँ ४० पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ ।
असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।