काठमाडौं । निक्षेपकर्ताको कुल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा रकम ठगी गरेको भन्दै प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड पूर्व अध्यक्षसहित १२ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले कोअपरेटिभका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित सञ्चालक तथा कर्मचारी गरी १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले आज मंगलबार उनीहरुको विस्तृत विवरण सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकको अध्यक्ष इच्छाराज तामाङ, सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परेको छन् ।
सहकारीमा सहजकर्ता प्रबन्धकको भुमिकामा काम गर्दै आएका भगवान बहादुर सिंह, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन, जुनियर असिसटेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकर प्रसाद पाठक रहेका छन् ।
सहकारी असिसटेन्ट संगिता श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना रहेको प्रहरी उपनिर्देशक श्याम कुमार महतोद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै प्रहरीले सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समितिका सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरेको छ ।
१३७ जना पीडित वचतकर्ताहरुले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा पाउनु पर्ने माग गरेका छन् ।
उक्त को–अपरेटिभ लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनाहरुमा लगानी गरेको थियो ।
उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त को–अपरेटिभ जोखिम पर्न गई सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका विभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगेको प्रहरीले जनाएको छ ।
सिभिल ग्रूपका अध्यक्ष तामाङले सम्पत्ति शुद्धिकरणको कसुर गरेको हुनसक्ने भन्दै सहकारी ऐन २०७४ को दफा ९१२२० बमोजिमको कसूर गरेको देखिन आएकोले सोही अनुसार कारवाही चलाइने जनाएको छ ।
प्रहरीले अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत यस ब्यूरोमा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।