काठमाडौंमा सात हजार एक सय एक बैंकिङ कसुरका मुद्दा, अघिल्लो आवको तुलनामा दोब्बर

काठमाडौं । काठमाडौं जिल्लामा एक वर्षमा बैंकिङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौंभित्र बैंकिङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए । ‘आव २०७८/७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो’, उनले भने ।

यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८र७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।

यसैगरी, आव २०७९/८० मा लागुऔषधमा तीन सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौंभित्र तीन सय ४१ जनाले आत्महत्या गरेको तथ्यांक छ । ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ ।

आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए । काठमाडौंमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा पाँच सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् । सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स